अर्थ

भरतपुरका महिलालाई कौसीखेती तालिम

चितवन।भरतपुरमा सहरी क्षेत्रका महिलालाई कौसीखेती तालिम सुरुआत गरिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय, निरन्तर शिक्षा केन्द्रको आयोजना तथा यूएसएआईडी कृषि उच्च शिक्षा परियोजनाको सहयोगमा कौसीखेती तालिम सुरु गरिएको हो ।

भरतपुर महानगरका मुख्य सहरी क्षेत्रमा बसोबास गर्ने महिलालाई कौसी खेतीसम्बन्धी आधारभूत प्राविधिक ज्ञान र सीप दिलाउने उद्देश्यले तालिम आयोजना गरिएको विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा.शारदा थपलियाको भनाइ छ ।

दुई दिनसम्म सञ्चालन हुने तालिमको सोमबार शुभारम्भ गर्दै प्रा.डा.थपलियाले सिकाइलाई व्यवहारमा उतार्न सके सहभागी महिलाको पारिवारिक स्वास्थ्य तथा पोषण र सहरी हरियालीमा सुधार ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् ।

उनले तालिम दिएपछि कौसीको निरीक्षण पनि गरिने बताइन् । विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा.कल्याणी मिश्र त्रिपाठीले आफूले उपभोग गर्ने तरकारी बजारबाट किनेर खान सक्नु गौरवको विषय नरहेको बताइन् ।

‘हामी बजारबाट तरकारीमात्र होइन,सँगसँगै विष पनि किनिरहेका हुन्छौँ,त्यसलाई कम गर्न पनि सहरी क्षेत्रमा कौसी खेतीको अपरियार्यता छ’, उनले भनिन् ।

कृषि संकायका डीन प्रा.डा.अर्जुनकुमार श्रेष्ठ, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान कृषि संकायका डीन प्रा.डा.होमबहादुर बस्नेत, अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक डा.ऋषिराम कट्टेल र यूएसएआईडी कृषि उच्च शिक्षा परियोजनाका राष्ट्रिय व्यवस्थापक डा.केशवप्रसाद प्रेमीले सहरी क्षेत्रमा कौसी खेतीको महत्त्व, कौसीखेती सम्बन्धमा विश्वस्तरमा विकास भएका अनुकरणीय पद्धति तथा प्रविधिको विषयमा जानकारी गराएका थिए ।

निरन्तर शिक्षा केन्द्रका निर्देशक तथा उक्त तालिमका संयोजक डा.निराजन भट्टराईका अनुसार तालिममा भरतपुर महानगरपालिकाअन्तर्गतका नारायणगढ र भरतपुर क्षेत्रमा बसोबास गर्ने ३० जना गृहिणी महिलाको सहभागिता रहेको छ ।

‘तालिममा कौसी खेतीको परिचय, स्थान छनोट, नर्सरी व्यवस्थापनका समस्या र समाधान, माटो व्यवस्थापन, मल र विषादीको असर, प्राङ्गरिक मलका स्रोत, माटो चढाउने, टेका र थाँक्रा दिने, गोडमेल छापो र मल्चिङ, काटछाँट, रोग कीरा व्यवस्थापन र आईपीएम विधि, बोकासी मल बनाउने विधि, घरेलु विषादी बनाउने विधि, इएम–२ बनाउने विधि, पोलीब्याग र प्रोब्यागमा माटो राख्ने विधिलगायत विषयबारे छलफल र सामूहिक अभ्यास गराइने छ’, निर्देशक भट्टराईले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *