अर्थ

६० किलो सुनको मालिक पत्ता नलागी अनुसन्धान पूरा, दीपक मलहोत्रा र राकेश अडुकियाबारे मौन

काठमाडौं । ६० किलो सुन प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले ५० जनालाई प्रतिवादी बनाउँदै मुद्दा चलाउन सरकारी वकिल कार्यालयलाई सुझाव दिएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै सीआइबीले ६०.७१६ सुन प्रकरणमा संलग्न भएको भन्दै ३२ जनालाई सार्वजनिक गरेको थियो । १८ जना अझै फरार रहेको र अनुसन्धान जारी रहेको सिआईबीले जनााएको छ । सीआइबीले उनीहरूबाट तीन अर्ब ५० करोडको बिगोदावी माग गरेको छ ।

पक्राउ पर्नेमा २३ जना नेपाली र नौजना विदेशी नागरिक छन् । फरार हुनेमा १४ विदेशी र चारजना नेपाली नागरिक छन् । फरार हुनेमा माओवादी उच्च नेताहरूसँग सम्बन्ध भएको भनिएकी अमला रोक्का मगर पनि छिन् । अमलाका श्रीमान् चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङलाई प्रहरीले पक्राउ गरेको छ । यो प्रकरणमा अहिलेसम्म पक्राउ परेकामध्ये उनको मुख्य भूमिका रहेको देखिएको प्रहरीले जनाएको छ ।

सीआइबीले सुन प्रकरणमा माओवादी नेता एवं पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनसँग समेत सोधपुछ गरेको थियो । यस्तै, माओवादी उपमहासचिव वर्षमान पुनका भाइ प्रनिश पुनलगायतलाई पनि अनुसन्धानको दायरामा राखेको थियो । तर सीआइबीले उनीहरूलाई प्रतिवादी बनाएको छैन ।

चीनबाट ल्याएको सुन कसको हो भन्ने अहिलेसम्म खुलेको छैन । चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङ नेपालमा आएको सुनका व्यवस्थापक मात्र भएको सीआइबीले अनुसन्धानबाट पत्ता लगाएको छ । तर सुन मालिक भने अझै खुल्न सकेको छैन । त्रिभुवन विमानस्थल, भन्सार कार्यालयबाट पनि जाँचपास भएर ट्याक्सीसम्म पुग्दासमेत नसमातिएको त्यति धेरै सुन कसको होला ? सय किलो बढी भनिएको, तर पछि ६०.७६१ किलो भएको सुनको चर्चा सञ्चारमाध्यम र सडकदेखि सदनसम्म हुन थाल्यो । केही मिडियाले सुन व्यापारी दिपक मलहोत्राको भएको भनेर समाचार लेखेका थिए ।


सुन प्रकरणमा आफ्नो समाचार आएपछि सोही दिन मलहोत्राले पत्रकार सम्मेलन गरे । ‘सुन प्रकरणमा मेरो संलग्नता देखिएमा जुनसुकै कारवाही पनि भोग्न तयार छु,’ उनले भने । समाचार माध्यमा उल्लेख गरिएका अन्य कुनै पनि व्यक्तिसँग आफ्नो चिनजान, सम्बन्ध र कुनै पनि कारोबार नभएको उनको भनाइ थियो । विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा सुन प्रकरणमा मलहोत्राको संलग्नता रहेको दावीसहितको समाचारहरू सम्प्रेषण हुन थालेपछि उनी मौन बसे ।

सुन प्रकरणमा अर्का व्यवसायी राकेश अडुकियालाई पनि मुछिए । सञ्चारमाध्यमहरूले यो प्रकरणमा राकेशको भूमिका शंकास्पदका रुपमा मात्रै लिएनन् उनले देश नै छाडेको समेत लेखे । उनका छोरा रोहन सुन प्रकरणमै पक्राउ परे । उनीमाथि थप अनुसन्धान गर्न आवश्यक नभएको भन्दै सीआईबीले बुझ्न मानेन । लामो समयसम्म मलहोत्रा र अडुकियाको वरिपरि नै सुन प्रकरण घुम्यो । तर सिआईबीले उनीहरूमाथि अनुसन्धान गर्न आवश्यकता नै ठानेन ।

अहिले पनि सिआईबीले विभिन्न व्यक्तिहरूमाथि अनुसन्धान गरिरहेको छ । तर, यसमा हालसम्म व्यवसायी मलहोत्रा र अडुकियाको संलग्नता नरहेको सिआईबीका प्रमुख किरण बज्राचार्यले बताएकी छन् । उनका अनुसार सुन प्रकरणमा सातवटा कम्पनी खडा गरेर सुन ल्याउने गरेको खुलेको छ ।

सिआईबीले अझै अनुसन्धान सकेको छैन । यो प्रकरणमा जुनसुकै व्यक्ति जुनसुकै बेला पनि अनुसन्धानमा तानिन सक्छ । तर पहिले मिडियामा आएका मलहोत्रा र अडुकियाका बारेमा भने के हुन्छ अझै खुल्न सकेको छैन । मलहोत्राले विगतमा आफूले सुनको कारोबार गर्ने गरे पनि पछिल्लो समय छाडेको बताएका छन् । अहिले उनले मोबाइल व्यापार एकलौटी बनाएका छन् । नेपालमा आयात हुने ६० प्रतिशत मोबाइल मलहोत्राकै कम्पनीले ल्याउने गरेको बताइन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *