अर्थ

हराउँदै गएको कोदो खेतीको संरक्षणमा जुटे म्याग्दीका तीगाउँवासी

म्याग्दी। घरको अगाडि भिरालो बारी । गोडमेल गरेर सफा बनाएको बारीका पाटामा हुर्कंदै गरेको कोदो खेतीले सबैको नजरलाई आकर्षित गर्ने दृश्य ।

दुई वर्षअघिसम्म वनमारा र सिरु फैलिएको पश्चिम म्याग्दीका रुम, देविस्थान, ओखरबोटलगायतका धेरै गाउँमा यस वर्षदेखि कोदोखेती गरिएको छ ।

उत्तरी र दक्षिणी म्याग्दीका विभिन्न ठाउँमा लोप हुँदै गएको कोदो पश्चिम म्याग्दीमा भने फस्टाउँदै गएको छ ।यहाँका बासिन्दाले अरु खेतीलाई भन्दा कोदो खेतीलाई महत्व दिँदै आइरहेका छन् । मालिका गाउँपालिका–६ मा पर्ने उपल्लो दरबाङ, दिच्याम गाउँमा जताततै कोदो लगाइएको छ ।

यहाँका स्थानीयले यस वर्ष दुई सय मुरीभन्दा बढी कोदो उत्पादन गर्ने लक्ष्य लिएका स्थानीय रणबहादुर सिउथानीले बताए । उत्पादित कोदो बिक्री गर्नुका साथै घरेलु मदिरा उत्पादन गर्ने, ढिँडो र रोटी बनाएर यहाँका किसानको योजना छ ।

हराउँदै गएको कोदो खेतीको संरक्षणमा तीगाउँवासी जुटेका हुन् । कुनै समयको महत्वपूर्ण खाद्यान्न बाली कोदो अहिले सहरी क्षेत्रका बालबालिकाका लागि मात्रै होइन ग्रामीण क्षेत्रका वयस्कका लागि दुर्लभ खाद्यवस्तु बन्दै गएको अवस्थामा यहाँका बासिन्दाले यसको व्यावसायिक खेती गरेर रैथाने बालीकोसमेत संरक्षणमा लागेको मालिका गाउँपालिका–५ देविस्थानका कृषक जगबहादुर विकले बताए ।

देविस्थानमा मात्रै गाउँको पाँच सय रोपनीभन्दा बढी बारीमा व्यावसायिकरुपमा नै कोदोखेती गरिएको छ ।

यहाँ उत्पादन भएको कोदोबाट घरेलु मदिरा उत्पादन गरी बिक्री वितरण गर्न सक्ने हो भने वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्न सकिने स्थानीय तीर्थबहादुर विकले जानकारी दिए ।

काम गर्ने जनशक्ति नहुनु तथा खेताला खोजेर काम लगाए पनि धानको जस्तो मूल्य कोदोले नपाउँदा कोदो हराउँदै जान थालेको कृषकले बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *