अर्थ

सर्वसाधारणले १० हजार कित्तासम्म भर्न पाउने आईपीओ बिक्री खुला

काठमाडाैं । मिड सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ आज भदौ २९ गतेबाट बिक्री खुला गरिएको छ। कम्पनीले सर्वसाधारणका लागि हिजो भदौ २८ गतेबाट आईपीओ जारी गर्ने भनेको थियो। तर, सरकारले सार्वजनिक बिदा दिएकोले कम्पनीले आजबाट आईपीओ बिक्री खुला गरेकाे हाे ।

कम्पनीले सर्वसाधारणका लागि ६ करोड २१ लाख १७ हजार २०० रुपैयाँबराबरको आईपीओ निष्कासन गर्न गरेको छ। यसअघि कम्पनीले आफ्नो जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँको २० प्रतिशत अर्थात १४ लाख ९६ हजार ८०० कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याएको थियो। त्यसमध्ये स्वीकृत विवरणपत्रमार्फत जारी पूँजीको १० प्रतिशत अर्थात ७ करोड ४८ लाख ४० हजार रकमबराबरको रु. १०० अंकित दरका ७ लाख ४८ हजार ४०० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरी बाँडफाँड गरिसकिएको छ।

जारी पुँजीको १० प्रतिशत अर्थात ७ लाख ४८ हजार ४०० कित्तामध्ये ७४ हजार ८४० कित्ता विदेशमा रोजगारी गरिरहेका नेपालीहरुलाई बाँडफाँड गरिसकिएको तथा १४ हजार ९६८ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको र ३७ हजार ४२० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएको कम्पनीले जनाएको छ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि छिटोमा असोज २ गते र ढिलोमा असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीकाे आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *