अर्थ

सुदूरपश्चिम प्रदेश सरकार र उद्योग वाणिज्य महासंघबीच समझदारी

काठमाडौं । सुदुरपश्चिम प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घबीच लगानी र बिकासका गतिविधि सञ्चालनका लागि सहकार्य गर्ने बिषयमा समझदारी भएको छ । शनिबार महासङ्घमा आयोजित एक कार्यक्रममा सदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारी पत्रअनुसार प्रदेश सरकार र महासङ्घले सुदूरपश्चिम प्रदेशमा लगानी प्रबद्र्धन गर्न र प्रदेशको आर्थिक विकास एवम् समृद्धिमा योगदान पुर्‍याउन सहकार्य गर्ने प्रतिवद्धता जनाइएको छ । प्रदेश सरकार र महासङ्घको संयुक्त आयोजनामा आगामी २०८० साल फागुन २३ र २४ गते सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन आयोजना गरिनेछ । उक्त सम्मेलन सफल पार्न महासङ्घको सम्पूर्ण संयन्त्रले काम गर्ने महासङ्घ अध्यक्ष ढकालले प्रतिवद्धता जनाए।

अध्यक्ष ढकालले भारत र चीनमा ‘बिजनेस समिट’ आयोजना गरेको र त्यहाँबाट सोधपुछ हुन थालेको अवस्थामा प्रदेशमा पनि लगानी सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिए । महासङ्घको तेस्रो कार्यकारिणी समिति बैठकले सबै प्रदेशमा लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको थियो । सोही सन्दर्भमा सुदुरपश्चिम प्रदेश सरकारसँग पहिलो सम्झौता भएको हो । यसले प्रदेशमा आर्थिक बिकासका लागि सहयोग पुग्ने अध्यक्ष ढकालले बताए ।

कार्यक्रममा सदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलवहादुर शाहले महासङ्घसँगको सहकार्यमा निर्धारित लगानी तथा बिकास सम्मेलन प्रभावकारी हुने विश्वास व्यक्त गरे । उनले सम्मेलनका अवसरमा सुदूरपश्चिममा लगानीको आउनेमा विश्वास व्यक्त गरे । सुदुरपश्चिम प्रदेश सरकारका अर्थ तथा योजना मन्त्री नरेश शाहीका अनुसार सुदूरपश्चिममा लगानीको पर्याप्त अवसर भएपनि लगानी आउन नसकेको अवस्थामा प्रदेश सरकारले सहजीकरण गर्ने समेत बताए ।

कार्यक्रममा महासंघका उपाध्यक्षद्वय हेमराज ढकाल एवं ज्योत्सना श्रेष्ठ र महासङ्घ लगानी तथा विदेश मामिला फोरमका सभापति मनोज पौडेलले सहकार्य र सम्झौताको औचित्यमाथि धारणा राखेको थिए। महासङ्घले लगानी सम्मेलनका लागि अन्य प्रदेश सरकारसँग पनि छलफल गरिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *