
काठमाडौं । नेपालको अग्रणी कर्पोरेट हाउस आईएमई ग्रुपले थप तीन ठाउँमा केबलकार बनाउने भएको छ । आइएमई ग्रुपका अध्यक्षसमेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कास्कीको सिक्लेस, ताप्लेजुङको पाथीभरा र कर्णाली चिसापानीको जालपादेवी मन्दिरमा केबलकार बनाउने बताएका हुन् ।
सात प्रदेशमा एक–एकवटा केबलकार निर्माण गर्ने घोषणा गरेका ढकालले तत्कालै तीनवटा नयाँ परियोजना अघि बढाउने बताएका हुन् । ढकालको नेतृत्वमा यसअघि नै बागमती प्रदेशको काठमाडौंमा चन्द्रागिरी केबलकार, गण्डकी प्रदेशको नवलपरासीमा मौलाकालीका केबलकार र लुम्बिनी प्रदेशको रुपन्देहीमा लुम्बिनी केबलकार निर्माण सम्पन्न भई सञ्चालनमा छन् । बेलायतको लन्डनमा आयोजित कार्यक्रममा महासंघ अध्यक्ष ढकालले तीनवटा केबलकार परियोजनामा लगानी गर्न गैरआवासीय नेपालीहरुलाई आग्रह पनि गरे ।
बेलायतस्थित गैरआवासीय नेपालीको समेत लगानीमा चन्द्रागिरी हिल्स तथा केबलकार सञ्चालनमा ल्याएको चन्द्रागिरी हिल्स नेपालकै आकर्षक पर्यटन गन्तव्य बनेको र उच्च प्रतिफल दिएको उदाहरण प्रस्तुत गर्दै ढकालले लगानी बढाउन हिचकिचाउनुपर्ने कारण नरहेको बताए । सातै प्रदेशमा चन्द्रागिरी जस्तै हिल स्टेसनसहितका केबलकार परियोजना अघि बढाएको उल्लेख गर्दै उनले आफू जन्मे हुर्केको प्रदेशमा रहेका पर्यटकीय पूर्वाधार परियोजनामा लगानी गर्न पनि गैरआवसीय नेपालीहरूलाई आग्रह गरे ।
ढकालले विश्वव्यापी संकटका असरले नेपालको अर्थतन्त्रमा देखिएका समस्या समाधान हुँदै गएको, उल्लेख्य रूपमा रेमिटेन्स भित्रिएको, पर्यटक आगमनमा सुधार भएको र बैंकिङ क्षेत्रमा लगानी योग्य रकम बढिरहेकाले लगानीको वातावरण सुधार भइरहेको पनि उल्लेख गरे ।