अर्थ

बेलायतका लगानीकर्तालाई नेपालमा लगानी गर्न चन्द्र ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बेलायतका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । लन्डनमा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै उनले ठूला पूर्वाधार विकासका लागि नेपालले थप बाह्य पुँजी खोजिरहेकोले विदेशी निजी लगानीकर्ता तथा विकास साझेदारका लागि नेपालमा आकर्षक लगानी अवसर रहेको बताए।

नेपालबाट आयात हुने जलविद्युतलाई नवीकरणीय ऊर्जा गणनामा समावेश गर्ने भारतको हालैको निर्णयलाई उल्लेख गर्दै ढकालले बढ्दो भारतीय बजारले जलविद्युत आयोजनामा लगानीको थप अवसर आएको तर्फ ध्यानाकर्षण गराए। बंगलादेशको सुदृढ अर्थतन्त्रले ऊर्जा माग बढ्दा नेपालको जलविद्युतका लागि थप बजार सृजना भएको पनि उनले उल्लेख गरे ।

दुई ठूला आकर्षक ऊर्जा बजार लक्षित नेपालको जलविद्युतमा लगानी र सहकार्यका लागि बेलायती लगानीकर्ताहरूका साथै बहुपक्षीय र द्विपक्षीय विकास साझेदारहरूलाई उनले विशेष आमन्त्रणसमेत गरे । नेपाल बेलायती पर्यटकका लागि पहिलेदेखि नै लोकप्रिय गन्तव्य रहेको उल्लेख गर्दै ढकालले थप पर्यटकहरूलाई स्वागत गर्न तयार र उत्साहित रहेको बताए । बढ्दो पर्यटन बजारका लागि केबलकार, रिसोर्ट, थिम पार्क, हिल स्टेसन र स्तरीय होटेल जस्ता पर्यटन पूर्वाधारमा लगानीको ठूलो सम्भावना रहेको उनको भनाइ थियो ।

बहुराष्ट्रिय कम्पनीहरूले नेपालमा गरेको लगानीबाट उच्च प्रतिफल प्राप्त गरिरहेकाले उत्पादन, कृषि प्रशोधन, आइसिटीसहित अन्य क्षेत्रमा लगानी बढाउन पनि ढकालले आग्रह गरे। बेलायतस्थित नेपाली दूतावासको पहलमा आयोजित लगानी सम्मेलनमा, नेपालका अर्थमन्त्री डा.प्रकाशशरण महतसहित बेलायतको अन्तर्राष्ट्रिय लगानी निकायका उच्च अधिकारीहरू तथा बेलायती निजी लगानीकर्ताहरूले भाग लिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *