काठमाडौं । जीवन बीमा कम्पनीहरुले झन्डै ४१ अर्ब बीमा शुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्म जीवन बीमा कम्पनीहरुले ४० अर्ब ८० करोड १६ लाख कुल बीमा शुल्क आर्जन गरेका छन्।
१४ जीवन बीमा कम्पनीको बीमाशुल्क आर्जन गत वर्षको यसै अवधिको तुलनामा १४ प्रतिशतले बढेको हो। गत वर्षको पहिलो त्रैमाससम्म जीवन बीमा कम्पनीहरुले ३५ अर्ब ७७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।
समीक्षा अवधिमा सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । असोज मसान्तसम्ममा नेपाल लाइफले १० अर्ब ९५ करोड १ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो । त्यस्तै दोस्रोमा लाइफ इन्स्योरेनस कर्पोरेसन नेपाल ९एलआईसी० रहेको छ । यो अवधिमा कम्पनीले ४ अर्ब ५० करोड ७८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। त्यस्तैगरी, तेस्रोमा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यो अवधिमा ४ अर्ब ३८ करोड ४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, समिक्षा अवधिमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ४ अर्ब १९ करोड २६ लाख रुपैयाँ,राष्ट्रिय बीमा संस्थानले ४ अर्ब ५ करोड ६० लाख रुपैयाँ, सूर्य ज्योति लाइफ इन्स्योरेन्सले २ अर्ब ३० करोड ४६ लाख रुपैयाँ बराबर बीमा शुल्क आर्जन गरेका छन् ।
यो अवधिमा एशियन लाइफले १ अर्ब ८६ करोड ९० लाख, सानिमा रिलायन्स लाइफले १ अर्ब ५१ करोड ८६ लाख, सिटिजन लाइफले १ अर्ब ५० करोड ४५ लाख, मेट लाइफले १ अर्ब ३६ करोड ६७ लाख, प्रभु महालक्ष्मी लाइफले १ अर्ब १५ करोड १५ लाख, आइएमई लाइफले १ अर्ब १० करोड २ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब १ करोड रुपैयाँ र सन नेपाल लाइफले ८८ करोड, ६४ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् ।