
काठमाडौं । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) का नगर प्रमुख इश्तियाक अहमद खाँले आफूले पाउने ६ महिनाको सुविधा बराबरको २ लाख ३४ हजार रुपैयाँ जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई उपलब्ध गराउने घोषणा गरेका छन् ।
प्राकृतिक प्रकोप भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा धेरैले ज्यान गुमाउनु परेकोमा दुःख व्यक्त गर्दै मेयर खाँले भूकम्प पीडितहरुको पुनर्स्थापना, गाँस, बास र आवास लगायतका व्यवस्थापनका लागि सहयोग होस् भनेर ६ महिनाको सुविधा बराबरको रकम दुवै जिल्लाका पीडितहरुलाई समान रुपमा प्रदान गर्ने बताएका हुन् । भैरहवाका मेयर खाँले मासिक ३९ हजार रुपैयाँ सुविधा पाउने गरेको बताएका छन् ।
‘भूकम्पमा परेका सबै नेपालीले दुःखमा परेका नेपालीलाई सहयोग गर्ने भावना हुनु आवश्यक रहेको बताउदैँ , ‘सोही भावना अनुसार थोरै सहयोगले भए पनि पीडितहरुलाई सहयोग स्वरुप ६ महिनाको सुविधा बराबरको २ लाख ३४ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको उनले बताए ।