अर्थ

गतिलो आम्दानी बन्दै बाख्रापालन व्यवसाय

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीका भक्तबहादुर विष्ट चरन क्षेत्रमा बाख्रा लैजाने तयारीमा जुटेका छन् । चुरे क्षेत्रमा रहेको गोठमा बाख्रा चराउनका लागि उनले सुरसार गरेका हुन् ।

मंसिरको पहिलो हप्ता चुरेमा रहेका गोठमा यस क्षेत्रका बासिन्दाले बाख्रा लगेर वर्षातको समय सुरु हुन थालेपछि तराई झर्ने गरेका छन् । डेढ दशकदेखि विष्टले परम्परागतरूपमा बाख्रापालन गर्दै आएका छन् । उनका गोठमा जमुनापारी र तोतापारी जातका सय बढी बाख्रा रहेका छन् ।

वार्षिकरूपमा बाख्रापालन गरी रु पाँच लाखदेखि रु सात लाखसम्म उनको आम्दानी हुने गरेको छ । गएको दसैँ र तिहारमा मात्रै उनले रु तीन लाख २८ हजारका खसीबोका बिक्री गरेका छन् । यी जातका खसीबोका ६५ किलोदेखि ७० किलोसम्मको हुने गरेको उनले जानकारी दिए । जिउँदो खसी रु पाँच सय ५० प्रतिकिलोका दरले गोठबाटै काठमाडौँ, नेपालगञ्जलगायत क्षेत्रका व्यापारीले खरिद गरेर लैजाने गरेका छन् ।

‘कोरोना महामारीअघि खसीबोकाको बजार निकै राम्रो थियो, आम्दानी चाहेजस्तै हुन्थ्यो’, उनले भने, ‘कोरोना महामारी फैलिएपछि र त्यसपछिको समय खसीबोकाको व्यापार नहुँदा थोरै मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता भयो, अहिले विस्तारै पुरानै अवस्थमा व्यवसाय फर्किन थालेपछि सहज भएको छ ।’

किसान विष्टले बाख्रापालनकै कमाइबाट बेदकोट नगरपालिकाको दैजीमा घरघडेरी जोडेका छन् । निगालीमा डेढ बिघा जग्गा खरिद गरी खेती गर्दै आएका छन् । बाख्रापालनसम्बन्धी तालिम नलिएका विष्टले पुरानै तरिकाले बनाइने खोरमा बाख्रा राख्दै आएका छन् । बाख्रालाई रोगव्याधि लागे, चोटपटक लाग्यो भने उपचार भने आफैले गर्दै आएका छन् । भेटेरेनरी प्राविधिकसँगको सङ्गतले उपचार गर्न सक्षम भएको उनको भनाइ छ ।

‘चुरे क्षेत्रमा चरनको राम्रो व्यवस्था भएकाले डेढ दशकदेखि बाख्रा चराउने काम गर्दै आएका छौँ’, उनले भने, ‘चरन क्षेत्रमा केही वर्षयतादेखि पहिरो जान थालेपछि बाख्रापालन सङ्कटमा पर्न थालेको छ ।’ चुरे क्षेत्रमा भइरहेको वन विनाशसँगै ढुङ्गा, गिट्टीलगायतको दोहन रोक्नुपर्ने उनले बताए । ‘चुरे क्षेत्र जोगिए मात्रै बाख्रापालन गर्न सकिने हो’, उनले भने, ‘यसलाई जोगाउन सबैको हातेमालो आवश्यक छ ।’ विष्ट जस्तै निगाली गाउँका १५ बढी परिवारको जीविका चलाउने आधार बाख्रापालन नै रहेको छ । परम्परागतरूपमा बाख्रपालन गर्दै आएका परिवारसँग कम्तीमा ५० देखि बढीमा दुई सयसम्म बाख्रपालन गरिएका छन् । बाख्रापालनमा लागेका परिवारको वार्षिक कमाई रु पाँच लाख बढी हुने गरेको छ ।

बाख्रापालन व्यवसायमा लागेका देव बोहराले स्थानीय तहले खोर व्यवस्थापन, घाँसखेती, औषधोपचारको तालिम दिएर सक्षम बनाउनुपर्ने बताए । ‘बाख्रापालनमा लागेका व्यवसायीलाई सहुलियत दरमा ऋणसँगै अनुदानको व्यवस्था गरिनुपर्छ’, उनले भने, ‘वर्षौदेखिका चरन क्षेत्रमा बाख्रा चराउनका लागि सहज वातावरण कायम गरिनुपर्छ ।’ व्यवसायीले हालसम्म सरकारी तवरबाट सञ्चालन हुने कार्यक्रममा नसमेटिएको जनाउँदै गुनासो पोखेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट