अर्थ

४० करोड रुपैयाँ हिनामिना गरेको आरोपमा अम्बे सहकारीका अध्यक्षसहित ५ जना पक्राउ

काठमाडौं।बचतकर्ताको करिब ४० करोड रुपैयाँ अपचलन गरेको आरोपमा सुनसरीको इटहरीमा रहेको अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सहित पाँच जना सञ्चालक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार संस्थाका अध्यक्ष फणीन्द्र मगर सहित शिला गजमेर, राहुल अग्रवाल र कुमार आले पक्राउ परेका हुन् । पक्राउ परेका एक जनाको नाम प्रहरीले खुलाएको छैन । बचतकर्ताको करिब ४० करोड बचत रकम फिर्ता गर्न नसकेपछि पीडितहरूले जिल्ला प्रशासन कार्यालय सुनसरी उजुरी दिएका थिए ।

उजुरीपछि पटकपटक बचतकर्तासँग वार्ता भएको थियो । बचतकर्ताको पैसा फिर्ता गर्ने सहमति भएपनि रकम फिर्ता गर्न नसकेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले पनि सहकारीका अध्यक्ष सहित सञ्चालकका विरुद्धमा ठगी मुद्दा दायर गरेपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

ठगी प्रकरणको प्रारम्भिक अनुसन्धान सुरु भइसकेको र उनीहरूको बयानका आधारमा थप व्यक्ति पनि पक्राउ पर्न सक्ने सुनसरी प्रहरी प्रमुख विपिन रेग्मीले जानकारी दिए ।

पाँच हजार बढी सेवाग्राही रहेको उक्त सहकारीमा ३ सय शेयर सदस्य छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *