काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले नवलपुर अमरावतीमा रेड बुल उद्योगको उद्घाटन गरेका छन् । मंगलबार अर्थमन्त्री महतले नवलपुरको अमरावतीमा रेडबुल उद्योगको औपचारिक उदघाटन गरेका हुन् । उक्त उद्योग उदघाटनका क्रममा अर्थमन्त्री महतले देशमा अन्य थुप्रै अवसर भएपति सदुपयोग गर्न नसकेको बताए ।
उनले सरकारले इन्धन खपत कम गरेर अर्थतन्त्रलाई सबल बनाउने काममा सरकार लागि रहेको दाबी गर्दै ‘इन्धन आयत कम गर्न वैकल्पिक ऊर्जाको प्रयोग गर्ने त्यसका लागि सरकारले वातावरण सिर्जना गर्ने बताए ।
पर्यटन क्षेत्रलाई प्रोत्साहन गर्दै निजी क्षेत्रलाई लगानी गर्ने र उत्पादन वृद्धि गर्ने योजना सरकारको योजना रहेको उनले बताए। कृषि क्षेत्रमा आधुनिक प्रविधि प्रयोग गरी नगदेवाली तथा पकेट क्षेत्रमा आधारित उद्यमलाई प्रोत्साहनतर्फ सरकारको ध्यान गएकाले आगामी बैशाखमा लगानी सम्मेलन गर्ने उनले बताए ।
यस्तै अर्थमन्त्री महतले ‘बुटवल नारायणघाट सडक निर्माणको काम छिटो सक्न निर्माण कम्पनी र लगानी कर्तासँग निरन्तर छलफल जारी रहेको उल्लेख गर्दै कम रकममा ठेक्का बिड गर्ने र विविध कारण देखाएर काम नगर्ने गर्दा निर्माण कार्य समयमा पूरा नगर्ने समस्या देखिएको बताए । त्यसको समाधान गर्न कानुन निर्माणको काम अघि बढाइएको उनको भनाइ छ ।
‘सरकारले उद्योग बन्द गर्यो चलाउन सकेन भन्ने विरोधका आवाज बारम्बार उठ्ने गरेको सन्र्दभमा उनले भने,‘ सरकारले उद्योग चलाउने होइन, प्रतिस्पर्धा र गुणस्तरको सुनिश्चितता गर्ने हो ।’ महतले उद्योग निजी क्षेत्रले चलाउने र ‘निजी क्षेत्रलाई उद्योग चलाउने वातावरण बनाइदिएर लगानी वृद्धि गर्ने र राजस्व सङ्कलन गरी दीर्घकालीन विकासका योजनामा खर्च गर्ने सरकारको काम भएको बताए ।
कार्यक्रममा टीपीसी थाइल्यान्डका सीईओ कुङ सरवोत योविध्याया, बागामती प्रदेश सभा सदस्य माया श्रेष्ठ, सरस वेभरेजका सिइको पवन जगतिया, अर्थ मन्त्रालयका सचिव मुकुन्द निरौलाले सहभागिता जनाएका थिए ।