अर्थ

एडिबीद्वारा इन्डोनेसियाको बाढी व्यवस्थापनका लागि ऋण स्वीकृत

काठमाडौं । एसियाली विकास बैङ्क एडिबीले इन्डोनेसियाको बाढी व्यवस्थापन क्षमतामा सुधार गर्नका लागि २५ करोड अमेरिकी डलर ऋण सहयोग गरेको बुधबार जनाएको छ।

वित्तीय परियोजनाले जाभा टापुको उत्तरी तटीय क्षेत्रमा बाढी जोखिमलाई कम गर्न र स्थानीय समुदायको सामाजिक आर्थिक विकासलाई सुदृढ बनाउन सहयोग गर्ने मनिलास्थित बैंकले जनाएको छ।

तल्लो क्षेत्रमा बढ्दो जनसङ्ख्या र सम्पत्तिका साथै रणनीतिक आर्थिक करिडोरका रूपमा रहेको इन्डोनेसियाको जाभा टापुको उत्तरी तटीय क्षेत्र बाढी र जलवायु परिवर्तनको दृष्टिकोणले अत्यन्त संवेदनशील रहेको एडिबीले बताएको छ।

उक्त परियोजनाको लक्ष्य पश्चिम जाभा र मध्य जाभामा सिमानुक–सिसाङ्गारङ नदी बेसिन क्षेत्रमा बाढीको जोखिम व्यवस्थापनलाई कार्यान्वयन गर्नु रहेको छ। यसबाट चार लाख ८५ हजार मानिसलाई बाढीको जोखिम कम गर्न सहयोग पुग्नेछ।

परियोजनाले जाकर्तालाई पूर्वी जाभासँग जोड्ने मुख्य सडकमा बाढीको जोखिम र यातायात व्यवधानका कारण आर्थिक केन्द्रहरूको जोखिमलाई कम गर्न सहयोग गर्ने पनि बैंकले उल्लेख गरेको छ। यसबाट अन्ततः स्थानीय र राष्ट्रिय अर्थतन्त्रमा फाइदा पुग्ने बैंकको भनाइ छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *