अर्थ

शोधनान्तर स्थिति ३ खर्ब ६५ अर्बले बचतमा

काठमाडौं । चालु आर्थिक बर्ष २०८०–८१ को ९ महिनामा देशबाट बाहिरिने र भित्रिने रकम बीचको अन्तर अर्थात् शोधनान्तर स्थिति ३ खर्ब ६५ अर्ब १६ करोड रुपियाँले बचतमा देखिएको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति बिषयक प्रतिवेदनले यस्तो देखाएको हो ।

तथ्यांकअनुसार शोधनान्तर बचत हालसम्मकै उच्च हो । गत आवको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ७४ अर्ब २८ करोड रुपियाँले बचतमा थियो ।
अमेरिकी डलरमा गत आवको समिक्षा अवधीमा १ अर्ब ३२ करोडले बचतमा रहेको शोधनान्तर स्थिति अहिले २ अर्ब ७५ करोड डलरले बचतमा छ ।

दुई बर्षअघि आयात उच्च दरमा बढ्दा नेपालको बाह्य क्षेत्र चापमा थियो । फलस्वरुप शोधनान्तर स्थिती पनि घाटामा गएको थियो । त्यसपछि सरकारले सवारी साधान सहित बिलासिताका केही बस्तुको आयातमा प्रतिवन्ध लगाएपछि बाह्य क्षेत्रका सुचक राम्रो बन्दै गएका थिए । पछिल्लो समय रेमिट्यान्समा भएको बृद्धि र आयातमा भएको संकुचनका कारण शोधनान्तर बचत बढ्दै गएको छ ।

गत आवको असोजदेखि नै शोधनान्तर स्थिती निरन्तर बचतमा छ । पछिल्लो समय आर्थिक शिथिलता कारण आयात नबढ्दा पनि शोधनान्तर स्थिती बचतमा गएको देखिन्छ । बाह्य क्षेत्रको मापन गर्न शोधनान्तर स्थितिलाई पनि मुख्य सूचककै रुपमा लिइन्छ ।

यस्तै, समीक्षा अवधिमा चालु खाता १ खर्ब ७९ अर्ब ४८ करोडले बचतमा रहेको छ । गत आवको सोही अवधीम चालु खाता ६० अर्ब ४३ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा गत आवको सोही अवधिमा ४६ करोड ८३ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ३५ करोड डलरले बचतमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *