अर्थ

कृषि विकास सहकारी प्रकरणमा विशेष अदालतका न्यायाधीश समेत संलग्न

काठमाडौं । बचतकर्ताहरुले सहकारीसंस्थालाई विश्वास गरेर रकम जम्मा गर्ने गरेपनि बचतकर्ताको रकम सुरक्षित हुन सकेको छैन् । सोझा साधा जनताले खाइ नखाइ सहकारीमा बचत गरेको रकम हिनामिना गर्नेमा सर्वसाधारणदेखि विशेष अदालतका न्यायाधीश समेत जोडिएका छन् ।

ललितपुरको कुमारी पार्टीस्थित कृषि विकास बहुउद्देश्यीय सहकारी प्रकरणमा विशेष अदालतका न्यायाधीश रामबहादुर थापा समेत जोडिएको तथ्याङ्क फेला परेको छ । न्यायाधीस थापा उक्त सहकारीका संस्थापक अध्यक्ष हुन् भने तेज हालका अध्यक्ष हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाका भाइ तेजविक्रम थापासहित ४ जनालाई पक्राउ गरेको छ ।

व्यवस्थापक रहेकी तेजकी श्रीमती सजना र अन्य दुई जना सञ्चालक समिति सदस्य समेत प्रहरीको फन्दामा परेका छन् । तत्कालीन समयमा कानुन व्यवसायी रहेका थापा २०६० सालसम्म कृषि विकास बहुउद्देश्यीय सहकारीको अध्यक्ष थिए । राम न्याय सेवा क्षेत्रमा लागेपछि उक्त सहकारी भाइ तेजले सम्हाल्दै आएका थिए । ललितपुर प्रहरी परिसरका अधिकारीले रामविरुद्ध कुनै उजुरी नपरेको बताए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईका अनुसार तनहुँको ब्यास–१ का ४३ वर्षीय तेजसहित १३ जनाविरुद्ध सहकारीको रकम अपचलन गरेको आरोप छ । बचतकर्ताले आफ्नो रकम फिर्ता नपाएपछि उजुरी गरेका थिए । हालसम्म ५ सय ६६ जना बचतकर्ताले ९४ करोड २३ लाख ४२ हजार रूपैयाँ बिगो दाबी गर्दै उजुरी गरेको उक्त सहकारीमा २ हजार ५ सय ३१ जना बचतकर्ताको २ अर्ब ८० करोड रकम बचत थियो ।

२०५६ सालमा लेखा प्रमुख र सञ्चालक समिती सदस्य भएर कृषि विकास सहकारीमा छिरेका तेज २०७१ सालमा सुरू भएको कृषि टेलिभिजन र २०७३ सालमा सुरू भएको गोरखा टेलिभिजनका संस्थापक अध्यक्ष हुन् । काठमाडौं उपत्यकाका विभिन्न १४ स्थानमा शाखा मार्ट रहेको कृषि फ्रेस प्रालिका पनि उनी अध्यक्ष हुन् । उक्त कम्पनी २०७० सालदेखि सञ्चालनमा छ । यस्तै २०७६ देखि सुरू भएको यती टेक्निक प्रालिमा अध्यक्ष, २०६६ सालदेखि सुरू कृषि इन्भेस्टमेन्टमा अध्यक्ष र २०७४ सालदेखि सुरू यति हर्ब्स प्रालिमा पनि अध्यक्ष रहेका छन् ।

एसएसपी भट्टराईले ललितपुर प्रहरी परिसरमा २०८० पुस १९ गते कृषि विकास बहुउद्देश्यीय सहकारीका पदाधिकारीविरुद्ध जाहेरी दर्ता परेको बताए । त्यसअघि सहकारी विभागाले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुसन्धान गर्न पत्राचार गरेको उनको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *