अर्थ

सवा ४ खर्ब पुग्यो शोधनान्तर बचत, चालु खाता बचत २ खर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ मा चालु खाता दुई खर्ब ३९ करोड र शोधनान्तर स्थिति चार खर्ब २५ अर्बले बचतमा रहेको छ ।

जेठमा चालु आवकै उच्च आयात भए पनि रेमिट्यान्स अघिल्ला महिनाको तुलनामा बढेको छ । यसले चालु खातासँगै शोधनान्तर बचत पनि बढाएको हाे ।

राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले बुधबार प्रकाशित गरेको चालु आवको ११ महिनाको आर्थिक तथा वित्तीय अवस्थाको तथ्यांकमा शोधनान्तर बचत ४ खर्ब २५ अर्ब ६७ करोड पुगेको छ ।

आव २०७८/७९ मा २ खर्ब ५५ अर्बले घाटामा रहेको शोधनान्तर स्थिति लागतार १४ महिनाको घाटा पछि २०७९ असोजयता लगातार बचतमा छ । गत आव २०८९/८० मा २ खर्ब ९० अर्ब बचतमा रहेकोमा चालु आवको ११ महिनामा नै सवा ४ खर्ब पुगेको हो ।

शोधनान्तर बचत मात्रै नभएर चालु खाता बचत समेत २ खर्ब नाघेको राष्ट्र बैंकले जनाएको छ । जेठ मसान्तसम्मको तथ्यांक अनुसार चालु खाता २ खर्ब ३९ करोडले बचतमा रहेको छ । गत आव २०७९/८० को सोही अवधिमा चालु खाता ७९ अर्ब ५३ करोडले घाटामा रहेको थियो । यस अवधिमा पूँजीगत ट्रान्सफर २५.७ प्रतिशतले कमी भई ५ अर्ब ४६ करोड कायम भएको छ ।

१९ खर्ब ६७ अर्ब विदेशी मुद्रा सञ्चिति

राष्ट्र बैंकले हाल १९ खर्ब ६७ अर्ब रुपैयाँ विदेशी मुद्रा सञ्चिति रहेको जनाएको छ ।

अघिल्लो वर्ष ०८० को असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति २७.८ प्रतिशतले बढेर ०८१ जेठ मसान्तमा १९ खर्ब ६७ अर्ब १९ करोड पुगेको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २५.७ प्रतिशतले वृद्धि भई १४ अर्ब ७२ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको आयातलाई आधार मान्दा हाल रहेको विदेशी विनिमय सञ्चितिले १५.१ महिनाको वस्तु आयात धान्ने राष्ट्र बैंकले जनाएको छ ।

१३ खर्ब २७ अर्ब रेमिट्यान्स भित्रियो

चालु आर्थिक वर्ष २०८०/०८१ को ११ महिनामा १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । प्रतिवेदनअनुसार गत वर्षको जेठ मसान्तसम्मको तुलनामा १९.३ प्रतिशतले वृद्धि भएको हो ।

गत वर्षको जेठ मसान्तसम्म रेमिट्यान्स आप्रवाह २२.७ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

उक्त अवधिमा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत र नयाँ गरी अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या चार लाख २२ हजार ९३६ पुगेको छ । पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ६२ हजार ७०५ रहेको राष्ट्र बैंकले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *