काठमाडौं । डेडिकेटेड फिडर र ट्रंक लाइनको भुक्तानी सम्बन्धी विवाद वार्तामार्फत समाधान गर्न नेपाल उद्योग वाणिज्य महासंघले आग्रह गरेको छ । विवादका कारण बारम्बार उद्योगको बिजुलीको लाइन काटिँदा उत्पादन प्रभावित हुनुका साथै लगानीको वातावरणमा प्रतिकूल असर परेर गलत सन्देश जाने महासंघको भनाइ छ ।
यो विवाद समाधानका लागि लाइन नकाट्ने र हाल काटिएको बिजुली तत्कालै जडान गरी वार्तामार्फत सबैपक्ष बसेर समाधान खोज्नु आवश्यक रहेको महासंघको ठहर छ ।
विभिन्न समयमा विभिन्न प्रक्रियाबाट बिजुली उपलब्ध गराइएको र उपभोग भए नभएको विषयमा उद्यमी व्यवसायी र नेपाल विद्युत् प्राधिकरणबीच मत भिन्नता रहेको महासंघको भनाइ छ । बिजुली उपभोगको प्रमाणको आधारमा अतिरिक्त विद्युत् महसुल भुक्तानी गर्न उद्यमी तयार रहेको समेत महासंघले जनाएको छ ।
महासंघले बिजुली काटिएका सम्पूर्ण उद्योगको लाइन जडान गरी लाल आयोगको प्रतिवेदनको सिफारिसको आधारमा सदाका लागि डेडिकेटेड फिडर र ट्रंक लाइन सम्बन्धी लामो समयदेखि थाती रहेको समस्या समाधानको पहल गर्न नेपाल सरकार र सम्बन्धित निकाय समक्ष माग गरेको छ ।
स्मरण रहोस् ट्रंकलाइन विवाद सदाको लागी अन्त गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्रलालको अध्यक्षतामा आयोग गठन भएको थियो ।