अर्थ

तिहारमा पहाडी क्षेत्रमा वर्षाको सम्भावना, चार दिनपछि मात्र धान काट्न नार्कको आग्रह

काठमाडौं । तिहारका मुख्य दिन कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा सामान्य वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तिहार विशेष मौसम बुलेटिन निकालेर महाशाखाले तिहारको मुख्य दिन लक्ष्मीपूजादेखि १९ गते भाइटीकाको दिनसम्म केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको जनाएको हो ।

उच्च पहाडी भेगका केही ठाउँमा सामान्य हिमपातको सम्भावना पनि छ । बाँकी ठाउँमा भने मौसम सफा रहने महाशाखाले जनाएको छ । समग्रमा धेरैजसो ठाउँको मौसम सफा रहने छ । तापक्रम भने घट्दो क्रममा रहने महाशाखाले जनाएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले ३ देखि ४ दिनपछि मात्र धान काट्न आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाले तिहारको अवधिमा विभिन्न प्रदेशमा वर्षाको सम्भावनाको अनुमान गरेसँगै नार्कले किसानलाई ३ देखि ४ दिनपछि मात्रै धान काट्न आग्रह गरेको हो ।

महाशाखाले आज एक विशेष बुलेटिन जारी गर्दै तिहारको चतुर्दशी (५ गते), औँसी (१६ गते), प्रतिपदा (१७ गते) र द्वितीया (१८ गते) का दिनहरूमा देशको कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशहरूका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

पाकेको धान काट्नै पर्ने भएमा उपलब्ध मेसिनहरु प्रयोग गरि जति सक्दो छिटो काट्न आग्रह गरिएको छ । काटेको धान खेतमा नछोड्न नार्कको सुझाव छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *