अर्थ

स्थानीय स्तरमा उत्पादित मासले बजार पाए पछि कृषक उत्साहित

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीमा उत्पादित मास (दलहन) ले बजार पाए पछि कृषक उत्साहित भएका छन् ।

जिल्लाकै सबै भन्दा अग्लो (दुई हजार एक सय ३४ मिटर) उचाइमा अवस्थित छिम्केश्वरीमा उत्पादित मासले स्थानीय स्तरमै बजार पाए पछि यहाँका कृषक उत्साहित भएका हुन् ।

छिम्केश्वरी स्थित बगई, खेउसिङमा उत्पादित मास आँबुखैरेनी गाउँपालिका–३ स्थित हाटबजार बाट सहज रूपमा बिक्री भइरहेको छ । यहाँ कृषकलाई मागअनुसार मास पुर्‍याउनै हम्मेहम्मे भइरहेको छ ।

खेउसिङका कृषक कमानसिंह गुरुङले विगत वर्षहरूमा बजार खोज्दै हिँड्नु परे पनि यस पटक यहाँ उत्पादित मासले बजार पाए पछि आफूहरू खुसी भएको बताए । उनले भने, “विगतमा मास बिक्रीका लागि भौँतारिनुपथ्र्यो, अहिले त सहज रूपमा बिक्री गर्न पाउँदा सजिलो भयो ।” आँबुखैरेनी गाउँपालिकामा विगत एक वर्ष देखि सञ्चालनमा आएको हाटबजारले कृषि सामग्री बिक्री वितरण गर्न सजिलो भएको उनको भनाइ छ ।

बगईका कृषक सानुमाया भुजेलले मासले बजार पाउन थाले पछि यस खेती तर्फ झनै आकर्षण बढ्ने बताए । “बजार नपाउँदा कृषक खेती तर्फ प्रोत्साहित हुँदैनन् । तर, जब उत्पादित सामग्रीले बजार पाउँछ त्यसले आकर्षण बढ्छ”, उनले भने, “गाउँपालिकाको पहलमा सहज रूपमा मास बिक्री गर्न पाउँदा सजिलो भएको छ ।”

आँबुखैरेनी स्थित हाटबजारमा छ हजार ७५ किलोग्राम मास बिक्री भएको छ । पहिलो चरणमा चार हजार दुई सय र दोस्रो चरणमा एक हजार आठ सय ७५ किलो मास बिक्री भएको हो । त्यस क्रममा कृषकले १२ लाख १५ हजार आम्दानी गर्न सफल भएका छन् । पहिलो चरणमा आठ लाख ४० हजार र दोस्रो चरणमा तीन लाख ७५ हजारको मास बिक्री भएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए । उनका अनुसार प्रतिकिलो दुई सयमा मास बिक्री गरिएको छ । “माग धेरै हुँदा सबैलाई पुर्‍याउन सकिएको छैन”, केसीले भने ।

गाउँपालिकाले हाटबजार सम्म ढुवानीका लागि सवारीसाधनको व्यवस्थापन गरिदिएको थियो । यस्तै, मास उत्पादन गर्ने कृषकलाई प्रतिकिलो २५ अनुदान दिने व्यवस्था मिलाइएको केसीले बताए । गाउँपालिकाले विगत एक वर्ष देखि प्रत्येक शुक्रबार हाटबजार सञ्चालन गर्दै आएको छ । हाटबजारले स्थानीय कृषक र उपभोक्तालाई जोड्ने काम गरेको छ । हाटबजार स्थानीय कृषिउपज बिक्री वितरणका लागि प्रभावकारी थलोका रूपमा विकास भएको कृषकहरूले बताएका छन् ।

हाटबजारमा प्रत्येक शुक्रबार कृषकले कृषिउपज वस्तु बिक्री वितरणका ल्याउँछन् । हाटबजारमा मह, गोलभेँडा, सिस्नु, गिठ्ठा, अमला, बेथेको साग, फर्सीको मुन्टा, दही, मोही, सिब्लीगान लगायत दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले दश वर्षका लागि जग्गा भाडामा लिएर हाटबजार सञ्चालन गरिएको जानकारी दिए । उनले वार्षिक दुई लाख ५० हजार भाडा तिर्नेगरी गाउँपालिकाले जग्गा भाडामा लिएको बताए । गाउँपालिकाका जुनसुकै वडाका कृषकले पनि आफूले उत्पादन गरेका सामग्री यहाँ ल्याएर बेच्न सक्ने व्यवस्था गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *