देश

किन घटे ढोरपाटनमा नाउर ?

काठमाडौं । हरेक पाँचपाँच वर्षमा ढोरपाटन सिकार आरक्षमा नाउर र झारलको गणना हुन्छ । गणनाको नतिजालाई हेरेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिकारको कोटा तोक्ने गर्छ । पछिल्ला याममा भने सिकार कोटा घट्दो छ ।

वन्यजन्तुको सङ्ख्या घटेपछि विभागले सिकारलाई पनि थप नियन्त्रित गरेको हो । गत वर्षको हिउँदमा गरिएको गणनामा नाउरको सङ्ख्या ह्वात्तै घटेर एक हजार दुई सय ९० मा झरेको पाइएको थियो । जबकि विसं २०७२ को गणनामा दुई हजार दुईसय दुई नाउर आरक्षमा भेटिएका थिए ।

सोही अवधिमा झारल भने तीन सय ८८ बाट बढेर सात सय ४४ पुगेका थिए । यसरी नाउर मात्र किन घटे त ? आरक्ष कार्यालयका सहायक संरक्षण अधिकृत सूर्य खड्काले नाउरको सङ्ख्या घट्नुमा अनेकन कारण रहेको बताए  ।

“हिमपहिरो, डढेलो र रोगव्याधि चल्दा नाउर मर्छन्, चोरीसिकार पनि हुन्छ”, उनले भने , “गणनाको याम, विधि जस्ता कुराले पनि सङ्ख्या तलमाथि पर्न सक्छ ।” नाउरको बसाइँसराइले पनि सही तथ्याङ्क पाउन गाह्रो हुने अधिकृत खड्काले उल्लेख गरे  ।

“ढोरपाटनबाट नाउरको बथानै डोल्पातिर जाने, उताको यता आउने पनि हुन्छ, आहारा नपाए चहार्दै अन्त जाने स्वभाव उनीहरुमा हुन्छ”,उनले भने । उनले  पाँच वर्षमा झण्डै एक हजार नाउर घट्नु स्वभाविक नदेखिएकाले त्यसबारे थप अध्ययनको खाँचो औँल्याए ।

हरेकजसो गणनामा सहभागी हुँदै आउनुभएका सिकार कम्पनी ट्र्याक एण्ड ट्रेल्र्सका प्रतिनिधि दीपक थापाले कठिन भूगोलका कारण नाउर र झारलको गणना चुनौतीपूर्ण हुने गरेको बताए  । “मौसमको प्रतिकूलता हुँदा नाउरको बासस्थान भेटाउनै सकिन्न, भारी हिमपातले त्यो ठाउँमा जानै नसक्ने अवस्था पनि आउँछ”, उनले भने ।

अनुमति प्राप्त सिकारीसमेत रहनुभएका थापाले ढोरपाटन उपत्यकाबाट चार दिनसम्म हिँडेर नाउर गणनाका लागि सुनदह ब्लकसम्म पुगेको सुनाए । सुनदह पश्चिम रुकुमको चुरुने हिमाल आसपास पर्छ । आरक्षका कर्मचारी, प्राविधिक, सिकार कम्पनीका प्रतिनिधि, स्थानीय पथप्रदर्शक र भरियासमेतको टोली गणनामा खटिने गरेको उनको  भनाइ छ ।

“बाइनाकुलरलगायतका उपकरणको सहायतामा गणना गरिन्छ, सिकार ब्लकसम्म पुग्ने दुरी र क्षेत्रफलअनुसार एउटै ब्लकमा चार÷पाँच दिनसम्म पनि लाग्छ”, थापाले भने  “प्रत्येक ब्लकमा नाउर र झारलको छुट्टाछुट्टै गणना हुन्छ ।” 

गणनाको याम, हावापानीको स्थिति, वन्यजन्तुको आनीबानी, गणकको दक्षता र प्राविधिक तथा व्यवस्थापकीय पक्षले पनि गणनालाई प्रभाव पार्ने उनको भनाइ छ । असोज–कात्तिकमा गणना गर्दा धेरै सहज हुने गरेको थापाको अनुभव छ ।

नाउरको सङ्ख्या घटेका कारण सिकारको कोटा पनि कम हुँदै गएको उहाँले बताए  । पहिलेपहिले वार्षिक २६ वटासम्म नाउरको सिकार कोटा निर्धारण गर्ने गरिएकामा अहिले २० मा झरेको छ । अधिकृत खड्काले नाउर, झारललगायत हिमाली तथा उच्च पहाडी भेगमा पाइने वन्यजन्तुको संरक्षणमा राज्यले ध्यान दिनुपर्ने बताए  ।

“धेरै ठाउँमा पाइने भएकाले पनि होला नाउर, झारल जस्ता वन्यजन्तु खासै प्राथमिकता परेको देखिन्न, यिनीहरुको अवस्था, बासस्थान आदिबारे पनि खोज, अध्ययन हुनुपर्छ, संरक्षणको योजना ल्याउनुपर्छ”, उनले भने । गणनाका क्रममा आरक्षको सुर्तिबाङ ब्लकमा अधिकांश झारल दुब्लोपातलो अवस्थामा भेटिएको उनले सुनाए । 

हिमाली भेडा प्रजातिमा पर्ने नाउर र बाख्रा प्रजातिको झारलको आहारा भनेकै घाँस र बुट्यान हो । जाडोयाम र हिमपात हुँदा हिमाली भेगका वन्यजन्तुलाई आहारा पुग्दैन । त्यस्तो बेला दुब्लाउँदै जाने र रोगी हुने सम्भावना बढी हुन्छ ।

विभागले पछिल्लो समय वार्षिक १९ देखि २४ वटासम्म नाउर र १४ देखि १९ सम्म झारलको सिकार कोटा छुट्याउने गरेको छ । सिकारीले आरक्षमा उमेर पुगेको बुढो नाउर र झारलको मात्र सिकार गर्न पाउने नियम छ ।  

नाउर ढोरपाटनमा बढी सिकार हुने जनावरमा पर्छ । तीन हजार मिटरदेखि पाँच हजारमाथिसम्म पाइने नाउर हिमाली भेडाले पनि चिनिन्छ । नाउर बथानमा बस्छ । नाउरको आयु करिब १५ वर्ष हुन्छ । लाङ्टाङ, मकालु, बरुण राष्ट्रिय निकुञ्जलगायत अधिकांश हिमाली क्षेत्रमा नाउरको बासस्थान रहे पनि ढोरपाटनमा मात्र यसको वैधानिक सिकार गर्न पाइन्छ । 

झारल पनि बाख्रा प्रजातिमा पर्ने जनावर हो । नाउर र झारल सिकारका लागि बर्सेनि विख्यात विदेशी सिकारी ढोरपाटन आउने गर्छन् । लाखौँ खर्चेर सिकारको रोमाञ्चक अनुभव बटुल्न उनीहरु लालयित हुन्छन् । नेपाली सिकार कम्पनीमार्फत् विदेशीहरु सिकार खेल्न आरक्ष पुग्छन् ।

बर्सेनि असोज–मङ्सिर र फागुन–वैशाख गरी दुई याममा ढोरपाटनमा सिकार खुला हुन्छ । गत आवको दुवै याममा गरी १७ नाउर र आठ झारलको सिकार भएको आरक्ष कार्यालयले जनाएको छ । 

सिकार कम्पनी नेपाल ट्राभल एक्सपिडिसन, ग्लोबल सफारिज, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाइफ आउटफिटर र ट्र्याक एण्ड ट्रेल्र्सले गत वर्ष सिकार खेलाएको थियो । अमेरिका, फ्रान्स, डेनमार्क, मेक्सिको, नर्वे, युक्रेन, स्पेनलगायत देशका पेशेवर सिकारीले नाउर र झारलको सिकार गरेका थिए । 

विद्युतीय बोलपत्रमार्फत् छानिएका कम्पनीलाई मात्र विभागले सिकार खेलाउनका लागि अनुज्ञापत्र दिने गर्छ । कम्पनीले गत आवको दोस्रो सिकार याममा नाउर सिकारको न्यूनतम रु तीन लाख ५० हजारदेखि रु १४ लाख २५ हजारसम्म राजस्व सरकारलाई बुझाएको ग्लोबल सफारिजका प्रबन्ध निर्देशक शम्शेर पराजुलीले जानकारी दिए ।

कोभिड–१९ महामारीको जोखिम घटेसँगै सिकारका लागि विदेशी ढोरपाटन आउन उत्सुक देखिएको उनको  भनाइ छ । सिकार पर्यटनका लागि विश्वमै प्रख्यात ढोरपाटन सौखिन र खर्चिला विदेशी सिकारीको रोजाइमा पर्छ । एउटै सिकारीले रु ३० देखि ३५ लाखसम्म सिकारमा खर्चने गरेको कम्पनी बताउँछन् । 

सिकारी हेलिकप्टरबाट आरक्षमा पुग्ने गर्छन् । एक हजार तीन सय २५ वर्ग किमीमा फैलिएको आरक्ष बागलुङ, म्याग्दी र पश्चिम रुकुमको उच्च पहाडी र हिमाली भूभागमा अवस्थित छ । आरक्षमा ३२ प्रजातिका स्तनधारी जनावर पाइन्छन् । आरक्ष क्षेत्रमा संरक्षित पक्षी डाँफे, मुनाललगायत १६५ प्रजातिका चराको बसोबास छ । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *