देश

नीति तथा कार्यक्रमभन्दा बाहिर गएर ओलीको लम्बेतान भाषण

काठमाडौं । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि केन्द्रित भएर प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गरिरहेका छन् । शुक्रबार ल्याइएको नीति तथा कार्यक्रममा आजदेखि छलफल सुरु भएको हो । पहिलो वक्ताका रूपमा एमाले अध्यक्ष ओलीले सम्बोधन गरेका छन् ।

उनले देशको अर्थतन्त्र संकटको डिलमा पुगेको बताउँदै अर्थतन्त्र उकास्दै गरेको एमालेको सरकारलाई ढालेर कांग्रेस–माओवादीसहित नयाँ गठबन्धन बनेको र त्यसले जनतालाई दुःख दिइरहेको आरोप लगाए । ‘एमालेको सरकारलाई विस्थापन गरी बनेको कांग्रेस माओवादीसहितको गठबन्धन सरकार नै हाम्रो अर्थतन्त्रलाई संकटको डिलमा पुर्‍याउने प्रमुख कारक हो । प्रधानमन्त्रीलाई लागेको होला, सरकार राम्रो छ भनिदिए हुन्थ्यो। तथ्यांकले अर्कै कुरा बोल्छ कसरी बोल्ने ? देश र जनतालाई दुःख दिन र दुःको कारण भएको छ अहिलेको गठबन्धन,’ उनले भने ।

मुलुकको अर्थतन्त्र संकटापन्न अवस्थामा रहेको र सामाजिक तथा सांस्कृतिक क्षेत्रमा अश्वाभाविक गतिविधिहरु बढदा पनि सरकारले सो अनुसारको नीति तथा कार्यक्रम ल्याउन नसकेको जिकिरसमेत उनको छ । ओलीले सरकार तलब, पेन्सन, सामाजिक सुरक्षा खर्चलगायत अनिवार्य खर्च व्यवस्थापन गर्न पनि नसक्ने स्थिति पुगेको दोहोर्‍याए ।

‘सरकारप्रति जनताको अविश्वास वास्तवमा भन्ने हो भने अभूतपूर्व ढंगले यो विश्वास ह्रास भएको छ । अविश्वास बढेको छ अभूतपूर्व ढंगले । जनतामा निराशा छ । सामाजिक तथा सांस्कृतिक क्षेत्र अस्वभाविक गतिविधिहरु बढ्दा छन्,’ उनले भने, ‘प्रमुख आर्थिक परिसूचकांकहरुले अर्थतन्त्र संकटापन्न भइसकेको देखाएका छन् । सरकार राजस्व उठाउन असफल भइसकेको छ । राजस्वले चालु खर्च तलब, पेन्सन, सामाजिक सुरक्षा भत्तालगायत अनिवार्य खर्च व्यवस्थापनको दायित्वसम्म पनि गर्न नसक्ने स्थिति सरकार पुगेको छ ।’

ओलीले सरकारले विगतका सरकारका राम्रा कामलाई समेत नीति तथा कार्यक्रममा समावेश गर्न नसेकेको भन्दै आपत्तिसमेत जनाए । उनले अहिले पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा आफ्नो धारणा राखिरहेका छन् । उनले सरकारले नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्ने भए आफूले साथ दिने पनि बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट