देश

राससले संस्कृतिसम्बन्धी तस्बिर प्रदर्शनी गर्ने

काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) ले गणतन्त्र दिवस–२०८० का अवसरमा तस्बिर प्रदर्शनी आयोजना गर्ने भएको छ । नेपालका सांस्कृतिक पक्ष समेटेर राससबाट सम्प्रेषण भएका तस्बिरहरू ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ शीर्षकमा सो प्रदर्शनीमा राखिने छन् ।

प्रदर्शनी यही जेठ ११ गतेदेखि रासस केन्द्रीय कार्यालय, भद्रकाली प्लाजामा सुरु हुने छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उद्घाटन गर्ने सो प्रदर्शनी जेठ १७ गतेसम्म चल्ने छ ।

प्रदर्शनीमा नेपालका सातै प्रदेश एवम् काठमाडौँ उपत्यका क्षेत्रका गरी ७७ तस्बिर समाविष्ट हुने छन् । राससका फोटो पत्रकारले खिचेका र सम्पादन कक्षबाट सेवाग्राहीमा सम्प्रेषण भइसकेका नेपालका विभिन्न चाडपर्व, जात्रा, मेलामहोत्सव तथा मठमन्दिर, गुम्बा, चैत्य, ताजिया जस्ता मूर्त–अमूर्त संस्कृति एवं सम्पदासम्बन्धी तस्बिर प्रदर्शनीमा राखिने छन् ।

मुलुकका सबै भूगोलमा बस्ने सम्पूर्ण जाति, जनजाति, भाषाभाषी, सम्प्रदाय एवम् धर्मावलम्बीलाई एउटै राष्ट्रिय भावधारामा समाहित गर्न रासस सांस्कृतिक तस्बिर प्रदर्शनीले योगदान पु¥याउने विश्वास राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले व्यक्त गरेका छन । संस्थाले यसअघि पनि आफ्ना वार्षिकोत्सव समारोहहरूमा तस्बिर प्रदर्शनी गर्दैआएको छ । गणतन्त्र दिवसका अवसरमा संस्थाका नायब महाप्रबन्धक श्यामप्रसाद रिमालका संयोजकत्वमा रहेको तस्बिर प्रदर्शनी कार्यदलको संयोजनमा गर्न लागिएको यस्तो प्रदर्शनी पहिलो पटक हुने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *