देश

‘जनयुद्ध’ को बखेडा निकाल्ने योगेश र गोकुल आफैंले मनाएका थिए वार्षिकोत्सव

काठमाडौं । यतिबेला एमाले सचिव योगेश भट्टराई निकै चर्चामा छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा ‘जनयुद्ध’ स्वीकारे कांग्रेस इतिहासको गर्तमा पुग्ने चेतावनी दिएपछि उनी चर्चामा आएका हुन् ।

एमालेमा अलि विश्वास र भरोसा भएका नेता हुन् योगेश । तर उनी बेलाबेला आफ्नै बोली र हर्कतका कारण विवादमा आइरहन्छन् । विगतमा एमालेमा माधवकुमार नेपाल निकट मानिने योगेश नेकपाकालीन विवादमा केपी ओलीतिर ढल्किए । अहिलेसम्म उनी ओलीकै खेमामा छन् । तर ओली गुटले योगेशलाई जहिल्यै छोइछिटो गर्दै आएको छ ।

नेपालमा १० वर्षसम्म सशस्त्र द्वन्द्व चल्यो । माओवादीले त्यसलाई ‘जनयुद्ध’ नाम दियो ।

उसका हरेक दस्तावेजमा ‘जनयुद्ध’ नै लेखिने गरेको छ । सरकारी कागजातमा पनि बेलामौका ‘जनयुद्ध’ शब्द उल्लेख हुने गरेको छ । यसपटकको नीति तथा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गर्दा ‘जनयुद्ध’ शब्द प्रयोग गरे । त्यही विषयलाई लिएर सोमबारको संसद् बैठकमा योगेशले हंगामा गरे ।

योगेशको अभिव्यक्तिलाई लिएर माओवादी सांसदहरू देवेन्द्र पौडेल, माधव सापकोटा, नारायणी शर्मालगायतले प्रतिवाद गरे । कांग्रेस सांसद कसैले पनि केही बोलेनन् । बरु कांग्रेस केन्द्रीय सदस्य मिनेन्द्र रिजालले फेसबुकमार्फत २०६५÷६६ मा नीति तथा कार्यक्रममा ‘जनयुद्ध’ शब्द कांग्रेसले हटाउन लगाएको योगेशलाई स्मरण गराए ।

तर तिनै योगेशले औपचारिक रूपमै ‘जनयुद्ध’ को वार्षिकोत्सव मनाएको तथ्य फेला परेको छ । ‘जनयुद्ध’ को २४औं वार्षिकोत्सवको अवसरमा उनी र एमाले स्थायी कमिटी सदस्य गोकुल बास्कोटाले २०७५ सालमा सुर्खेतमा आतिथ्यता ग्रहण गरेका थिए । २०७५ फागुन १ गते आयोजित कार्यक्रममा योगेशले ‘जनयुद्ध’ को बारेमा भाषण नै गरेका थिए । बास्कोटाले पनि ‘जनयुद्ध’ को प्रशंसा गरेका थिए ।

(हेर्नुस् तस्बिर)

योगेश र गोकुललाई ‘जनयुद्ध’ दिवस मनाउनुको बाध्यता चाहिँ त्यतिबेला एमाले र माओवादी नेतृत्वको सरकार थियो । केपी ओली प्रधानमन्त्री बनेका थिए । दुई पार्टीबीच एकता भएर नेकपा बनेको थियो । त्यही भएर योगेश र गोकुलले ‘जनयुद्ध’ को वार्षिकोत्सवमा प्रमुख अतिथि बनेका थिए । अहिले यिनै दुई नेता ‘जनयुद्ध’ लाई कांग्रेसले स्वीकारेको हो भन्दै खनिएका छन् । गोकुलले मंगलबार प्रतिनिधिसभा बैठकमा बालिका काजोल खातुनलाई बम विस्फोट गराएर मार्ने काम ‘जनयुद्ध’ थियो भन्दै प्रश्न गरेका थिए । उनले त्यसलाई मान्छेले गरेको युद्ध नै हो त भनेर माओवादीमाथि खनिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *