देश

ठगी आरोप लाग्दा अख्तियार प्रमुख प्रेमकुमार राई किन मौन ?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग संवैधानिक अंग हो । यो अर्धन्यायिक निकाय पनि हो । अख्तियार प्राप्त व्यक्तिले पदको दुरुपयोग गरी भ्रष्टाचार गरेमा यसले समातेर कारबाही पनि गर्छ । 

मुद्दा चलाउन सक्छ । यसलाई साना सरकारी कर्मचारीदेखि प्रधानमन्त्रीसम्मका व्यक्तिमाथि कारबाही गर्ने अधिकार छ । त्यसैले अख्तियारलाई प्रभावशाली मानिएको हो । यसैले गर्दा एमाले अध्यक्ष केपी ओलीले आफ्ना विश्वास पात्र प्रेमकुमार राईलाई अख्तियार प्रमुख बनाएका थिए ।

तर तिनै राई अहिले नक्कली शरणार्थी काण्डमा मुछिएका छन् । अख्तियार प्रमुख आफैंमा सम्मानित पद हो । जसले अख्तियार दुरुपयोग गर्छ उसलाई कारबाही गर्ने निकायकै प्रमुखमाथि ठगीको आरोप लाग्नु सामान्य होइन । पूर्वगृहसचिवसमेत रहेका राई नक्कली शरणार्थी प्रकरणमा प्रत्यक्ष संलग्न रहेका व्यक्ति हुन् । 

उनी गृहसचिव हुँदै छुटेका भुटानी शरणार्थीलाई अमेरिकालगायतका देशमा पुनर्वास गराउने भन्दै तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलले बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेका थिए । त्यही कार्यदलकै प्रतिवेदनलाई गलत प्रयोग गर्दै ठगीकाण्ड घटाइएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य योजनाकार भनिएका सानु भण्डारीले तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी नैनाकला थापालाई मन्त्री क्वार्टर पुल्चोकमै पुगेर एक करोड रुपैयाँ दिएको बयान दिएका छन् । सुरुमा इन्कारी बयान दिएका भण्डारीले थप बयानमा भने थापालाई सो रकम बुझाएको बताएका हुन् ।

 उनले तत्कालीन गृहसचिव प्रेमकुमार राईको गाडीमा एक करोड राखेको पनि दाबी गरेका छन् । भण्डारीका अनुसार इन्द्रजीत राईले ‘यो गाडी सचिवज्यूको हो’ भन्दै उक्त रकम गाडीमा राख्न लगाएर सचिवको कार्यकक्षमा बोलाएका थिए । त्यसपछि राईले ‘अब तपाईंहरुको काम हुन्छ, तपाईंहरु जानु’ भनेर विश्वास दिलाएको भण्डारीको बयानमा उल्लेख छ ।

बयानका आधारमा प्रेमकुमार राईमाथि नैतिक प्रश्न उठिसकेको छ । पद ठूलो होइन । नैतिकता ठूलो हो । पद भनेको आउँछ जान्छ । तर आफ्नो छविमा दाग लाग्दा पनि राईले नैतिकता देखाएर आफूलाई निर्दोष सावित गर्न कसले रोकेको छ ? अहिले राईमाथि पदबाट राजीनामा दिन चौतर्फी दबाब आएको छ । तर उनले त्यसलाई देखेको नदेखेझैं गरिरहेका छन् । यसले राई मात्र होइन, अख्तियारकै बदनामी भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *