देश

रविको नागरिकता प्राप्तिमा काठमाडौंका सिडियो उपाध्याय पनि फस्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता प्राप्ति प्रकरणमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय पनि फस्ने भएका छन् ।

सिन्धुलीका युवराज पौडेल ‘सफल’ ले रविले अमेरिकी राहदानी त्यागेको प्रमाण माग गर्दै दिएको पछिल्लो निवेदनमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले सर्वोच्च अदालतलाई प्रामाणिक कागजात पेस गर्न नसकेपछि मुद्दाले नयाँ मोड लिएको छ ।

पौडेलको रिटमा सर्वोच्चले वैशाख २७ गते जिल्ला प्रशासनलाई पत्र लेख्दै लामिछानेले अमेरिकी राहदानी त्यागेको प्रमाण माग गरेको थियो । न्यायाधीश हरि फुयाँलको एकल इजलासको आदेशअनुरुप उक्त पत्र लेखिएको हो ।

‘प्रत्यर्थी रवि लामिछानेले अमेरिकी राहदानी त्याग गरिसकेको प्रमाणित हुने निस्सा अध्यागमन विभाग वा जिल्ला प्रशासन कार्यालय, काठमाडौं जहाँ भए पनि झिकाई नियमानुसार पेस गर्नू,’ आदेशमा भनिएको छ ।

जिल्ला प्रशासन कार्यालयका कानुन अधिकृत सानोबाबु श्रेष्ठले गत जेठ ३ गते जवाफ पठाउँदै लामिछानेले अमेरिकी नागरिकता त्यागेको प्रमाणको विषय आफ्नो कार्यालयसँग सम्बन्धित नरहेको भनेका छन् ।

‘रिट निवेदनमा प्रत्यर्थी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी राहदानी त्याग गरिसकेको भन्ने प्रमाणित हुने निस्सा माग भएको हुँदा उक्त राहदानी त्यागसम्बन्धी निस्सा यस कार्यालयसँग सम्बन्धित नरहेको ब्यहोरा सादर अनुरोध गर्दछु,’ पत्रमा भनिएको छ ।

उक्त जवाफपछि तालुक अड्डामै राहदानी त्यागको निस्सा नरहेपछि ‘कहाँ छ त’ भन्ने जिज्ञासा उत्पन्न भएको छ । यससँगै अर्को प्रश्न पनि उठेको छ– प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले रवि लामिछानेले अमेरिकी राहदानी त्यागेको निस्सा नै जाँच नगरी एकै दिनमा कसरी नेपाली नागरिकता दिए ?

जिल्ला प्रशासन मात्र नभई अध्यागमन विभागले पनि रविको अमेरिकी नागरिकतासम्बन्धी विवादमा कागजातको सक्कल प्रति आठ थान यसअघि नै अर्को रिटका सन्दर्भमा सर्वोच्चमा पठाएकाले हाल आफूसँग नरहेको जवाफ दिएको छ । तर सर्वोच्च अदालतको रिट शाखा स्रोतका अनुसार अध्यागमनले रविले अमेरिकी राहदानी त्याग गरेको निस्सा खुल्ने कागजात जेठ ८ गतेसम्म सर्वोच्चमा पठाएको छैन ।

रवि लामिछानेले अमेरिकी राहदानी त्यागेको निस्सा (प्रमाण) बारे जिल्ला प्रशासन कार्यालय काठमाडौंको आफ्नै पुरानो जवाफ बाझिएको छ ।अघिल्लो रिटका सन्दर्भमा गत वैशाख ८ गते प्रजिअ उपाध्यायले सर्वोच्चलाई पठाएको लेखेको पत्रमा लामिछानेले अमेरिकी नागरिकता त्यागेको ‘निस्सा’ पेस गरेको दाबी गरेका छन् ।

राहदानी दुरूपयोगसम्बन्धी पौडेलकै अर्को रिटमा उपाध्यायले लामिछानेलाई कानुनको तोकेको सम्पूर्ण प्रक्रिया पूरा भएपछि मात्रै नागरिकता दिइएको जवाफ दिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *