
काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीहरू चालु आर्थिक वर्ष १० महिनामा मात्र ७५ करोड भन्दा बढीको ठगीमा परेका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गैरकानुनी रुपमा बिचौलिया तथा दलालहरूले बिचौलिया र एजेन्टहरूले ७५ करोड ७७ लाख भन्दा बढीको ठगी गरेको हुन् । चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा ठगीमा परेको भन्दै ९२५ जनाको उजुरी विभागमा परेको छ ।
७५ करोड ७७ लाख ४१ हजार २१४ रुपैयाँ बराबरको रकम ठगीभएको भन्दै उनीहरुले माग दावी गरेका छन् । ठगी गर्नेमा वैदेशिक रोजगारीमा श्रमिक पठाउने अनुमति नपाएका एजेन्ट तथा दलालहरू बढी देखिएका छन् । इजाजत लिएर कामदार पठाइरहेका कम्पनीहरूले समेत कामदारबाट मोटो रकम लिएर पठाउने गरेको पाइएको छ ।
यो वर्ष वेदेशिक रोजगारीमा पठाउने भन्दै अघिल्लो वर्षको तुलनामा बढी ठगी गरेको विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदीले जानकारी दिए । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६९५ उजुरी परेका थिए । ५० करोड ४४ लाख ६१ हजार रकम दाबी गरिएको थियो । वैशाख महिनामा मात्र १०४ उजुरी परेको विभागको तथ्याङ्कले देखाएको छ । यसरी उजुरी परेका ९२५ मध्ये ७७ वटा उजुरी अदालतसम्म पुगेका छन् ।
ठगी आरोपमा विभागले प्रहरीको सहयोगमा १७६ बिचौलियालाई पक्राउ गरेको देखिन्छ । त्यस्तै विभागको रोहबरमा १३५ उजुरीमाथि मिलापत्र गराइएको छ । त्यसरी मिलापत्र गराउँदा एजेन्टहरूले ९ करोड ४३ लाख रुपैयाँ फिर्ता गरेका छन् ।