देश

चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र आवेदन खुल्यो

म्याग्दी।म्याग्दीलगायत साविक धौलागिरि क्षेत्रका सेवाग्राहीलाई लक्षित गरेर बाग्लुङमा ११ वर्षपछि पुनः चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन गर्न आवेदन संकलन हुन थालेको छ ।

अब बाग्लुङसहित पर्वत, म्याग्दी र मुस्ताङका सेवाग्राहीलाई चारपाङ्ग्रेको लाइसेन्सका लागि पोखरालगायतका स्थानमा पुग्नुपर्ने बाध्यता हट्ने भएको छ ।

यातायात व्यवस्था कार्यालय बाग्लुङका प्रमुख पारसिङ थापाले आइतबारदेखि (बि) (सि) (इ) (एफ) र (जि) वर्ग (चारपाङ्ग्रे) सवारी चालक अनुमतिपत्रका लागि आवेदन खुला गरिएको जानकारी दिए ।

बाग्लुङमा हाल (ए) र (के) वर्ग (दुई पाङ्ग्रे) को मात्र परीक्षा सञ्चालन हुने गरेको छ । नयाँ मापदण्ड अनुसारको संरचना नहुँदा वि.सं. २०६९ देखि चारपाङ्ग्रेको प्रयोगात्मक (ट्रायल) परीक्षा बाग्लुङमा हुन सकेको थिएन ।

‘ट्रायल परीक्षाका लागि मापदण्ड पुगेको पूर्वाधार र सवारी साधन भाडामा लिन गत असारमा बोलपत्र आह्वान गरेका थियौं’,उनले भने,‘प्रतिस्पर्धामार्फत छनोट भएको धौलागिरि ड्राइभिङ सेन्टर प्रा.लि. बागलुङसँग भदौ पहिलो साता सम्झौता भएको थियो । यसै हप्ताभित्र ट्रायल सुरु गर्ने तयारीमा छौँ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *