
पूर्वी नवलपरासी।चार वर्ष अघिदेखि ढुवानी भाडा नबढाएको भन्दै गाडी व्यवसायीले होङ्सी सिमेन्ट कारखानामा शनिबार बिहानदेखि आन्दोलन गरेका छन् । सिमेन्टको विनयी त्रिवेणी गाउँपालिकाको सर्दीमा कारखाना छ । चिनियाँ लगानीको यो कारखाना नेपालकै ठूलो हो ।
उद्योग सञ्चालनको समयमा तय गरिएको ढुवानी दरमा हालसम्म वृद्धि नभएपछि बाध्य भएर आन्दोलन गर्नु परेको सर्दी भुटुकेटिपर व्यवसायी संघका अध्यक्ष यादव पौडेलले बताए । ‘उद्योगमा आवश्यक पर्ने कच्चा पदार्थ ढुवानीमा प्रयोग हुने टिपरहरुको दररेट चार वर्ष अगाडि तय भएको थियो । हामीले पटकपटक भाडादर वृद्धि गर्न माग पनि गर्यौं । तर सुनुवाइ भएन,’ पौडेलले भने ।
उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ पाल्पाबाट ढुवानी हुन्छ । पाल्पाबाट उद्योगसम्म चुनढुंगा ढुवानीको काम स्थानीय व्यवसायीहरुले गर्छन् । भाडादर वृद्धिको लागि जिल्ला प्रशासन कार्यालय र गाउँपालिकाको कार्यालयमासमेत अनुरोध गर्दा सुनुवाइ नभएको व्यवसायीहरुको गुनासो छ । ढुवानी व्यवसायीहरुले उद्योगको गेट बन्द गरेपछि अहिले उद्योग प्रवेश गर्ने र उद्योगबाट सिमेन्ट ढुवानी गर्ने मालबाहक ट्रक सञ्चालनमासमेत अवरोध पुगेको छ ।
इन्धनको मूल्य वृद्धि दुई गुणा बढी भइसक्दा पनि सिमेन्ट र क्लिङ्कर ढुवानीको भाडा पुरानै दर रेट अनुसार गरेको भन्दै चालकले बिहानैबाट होङ्सी सिमेन्टको मुख्यद्वारमा आन्दोलन गरेका हुन् । उनीहरूले सिमेन्ट कारखाना व्यवस्थापनविरुद्ध नाराबाजीसमेत गरेका छन् ।