देश

यी प्रदेशमा आज भारी वर्षाको सम्भावना

काठमाडौं।हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।

साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली भई केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ र बाँकी प्रदेशहरूमा आंशिक देखी सामान्यतया बदली भई एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली र बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

वर्षाका कारण नदीको जल सतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम रहने हुँदा सो बाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *