देश

बाढीपहिरोबाट यी राजमार्ग अवरूद्ध

काठमाडौं।बाढीपहिरोबाट ३ वटा राष्ट्रिय राजमार्ग अवरूद्ध भएका छन् । सडक विभागले दिएको जानकारीअनुसार तानसेन–रिडी–कोरला सडक पहिरोका कारण अवरूद्ध छ।

त्यस्तै तमोर करीडोरअन्तर्गतचतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक जोड्ने सडक पाँचथरको माझिटारस्थितहेवाखोलामा अवरुद्ध छ।

सडक विभागले पुष्पलाल मध्यपहाडी राजमार्ग खोटाङमा अवरूद्ध रहेको बताएको छ। हलेसी नगरपालिकाले उपकरण प्रयोग गरेर सडक सञ्चालनको प्रयास गरिरहेको पनि विभागले जानकारी दिएको छ।

डुम्रे–बेशीसहर–चामे, रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले,लेघुवाघाट–तुम्लिङ्गटार–खाँदवारी–नुम–किमाथाङ्का जोड्ने कोशी राजमार्गअन्तर्गतको सडक एकतर्फी रहेको विभागले बताएको छ।

डुम्रे–बेशीसहर–चाम सडक लम्जुङको खरखरे भीरमा एकतर्फी रहेको छ। त्यस्तै सिद्धार्थ राजमार्गअन्तर्गत बेलहिया–भैरहवा–बुटवल–वर्तुङ–राम्दी–स्याङ्जा–पोखरा जोड्ने सडक पाल्पाको हिउँदे खोला, तिनाउ हाइड्रोपावर ड्याम नजिकै एकतर्फी रहेको छ।

कर्णाली राजमार्गअन्तर्गत जमुनाहा–नेपालगञ्ज–कोहलपुर–सुर्खेत–खुलालु–हिल्सा जोड्ने सडक दैलेखको दहीखोलामा एकतर्फी रहेको विभागले जानकारी दिएको छ।

त्यस्तै, दिक्तेल–सोलु–जुनबेंसी–खहरे–जिरीबजार–तामाकोशी–चरीकोट–खाडीचौर सडक दोलखाको खावामा एकतर्फी रहेको छ।

मनसुनजन्य गतिविधि सुरु भएयता २९ वटा राजमार्गको २ सय ७२ स्थानमा अवरूद्ध भएयता २ सय १४ ठाउँमा दुवैतर्फ सञ्चालनमा आइसकेको छ।

यस वर्षको बाढीपहिरोले राजमार्गहरूमा ३९ करोड ६६ लाख ५० हजार रुपैयाँ बराबर क्षति पुर्‍याएको विभागले अद्यावधिक गरेको विवरणमा उल्लेख छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *