देश

तीजका गीतमा पहिले सासु बुहारीका वेदना, अहिले वैदेशिक रोजगारीका पीडा

चितवन।

‘घरमा एक्लै छाडेर बुढा बाबा आमालाई
बाध्य भए छोरा छोरी विदेश जानलाई’

भन्दै भरतपुर महानगरपालिका–११ दिपज्योति टोलमा महिलाहरु आइतबार यो गीत गाउँदै नाचिरहेका थिए । उनीहरुले गाएको यो गीतले नेपालको पछिल्लो वास्तविकतालाई चित्रण गरेको थियो ।

पछिल्लो समय गाउँघरमा विदेश गएका छोराछोरीको सम्झनामा तीज गीत गाउने गरेको सुनिन्छ । पहिले पहिले गीतमार्फत सासु बुहारीका वेदना पोख्ने महिलाहरुले अहिले छोरा–छोरी र आफन्त विदेशिएको कुरा गीतमार्फत प्रस्तुत गर्ने गरेका छन् ।

‘न त कुनै कलकारखाना न त कुनै रोजगार
युवा जति विदेश हिँडे के हो सरकार’

महिलाहरुले विदेशिनुको कारण यसरी गीतमार्फत प्रस्तुत गरे । उनीहरुले सरकारलाई प्रश्न गर्दै युवा विदेश जाँदाको पीडा घर परिवार र समुदायलाई हुने गरेको सुनाए । देशका कलकारखाना बन्द हुँदा युवा विदेश पलायन हुनुपरेको महिलाहरुको गीतमा उल्लेख थियो ।

भरतपुर–११ की सुशीला सापकोटा आफ्नो टोलछिमेकमा भएका गतिविधिलाई गीतमार्फत प्रस्तुत गरिएको बताइन् । उनले भनिन्,‘दिदीबहिनी जम्मा भएर यसरी भाका मिलाएर गाउँदाको आनन्द नै बेग्लै छ,यसले मनका पीर व्यथा पोख्न र साटासाट गर्न सहयोग पुर्‍याउँछ ।’

उनले भाका मिलाएर गाउँदा नाच्दा आफ्नो सृजनात्मक क्षमतासमेत बढ्ने बताइन् । आफूहरुले गाएको गीत नेपाली समाजको साझा समस्या भएको उनको भनाइ छ ।

‘दुःख सुःख गरेर बाह्र क्लास पढाइयो
कलिलो उमेरमा प्लेन चढाइयो’

अहिले कक्षा १२ पास नहुँदै कलिलो उमेरमा युवायुवती विदेशीने गरेको तितो अनुभव हाम्रो समाजमा छ । भरतपुर–१० की सविता अधिकारी वैदेशिक रोजगारीले पारिवारिक रुपमा बिछोड गराएको भन्दै हरेक घर परिवार समस्यामा रहेको बताइन् ।

उनले राज्यले युवाहरुलाई नेपालमै बस्ने वातावरण बनाउनुपर्ने भन्दै यस्तै अवस्था रहिरहे देश युवा बिहिन हुने बताइन् ।

‘एउटा छोरा एउटा छोरी सानो सुखी परिवार
पकाउनै मन लाग्दैन मिठो परिकार’

धेरै घरपरिवारमा सबै सदस्य नहुँदा चाडपर्व पहिलेजस्तो रमाइलो नभएको महिलाहरुको अनुभव छ ।चितवनको रत्ननगर नगरपालिका–८ की सीता पौडेल दिदी बहिनीहरु विदेश हुँदा पहिलेजस्तो रमाइलो हुन छाडेको बताउँछिन् ।

उनले भनिन्, ‘पहिले घरैभरी मान्छे हुन्थे, चाडपर्व आउना साथ मन खुसी हुन्थ्यो, अहिले त्यो अवस्था छैन ।’ देशमा सुशासन कायम गरेर सबै परिवारसँगै हुने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।

‘उच्च शिक्षा हासिल गरी नाम तिम्ले कमाउ
नेपालमा केही गर्ने लक्ष्य बोकी आउ’

तीजका गीतमार्फत महिलाहरुले विदेश गएपछि उच्च शिक्षा अध्ययन गरेर नेपालमै फर्कन सुझाव दिन्छन् । महिलाहरुले वैदेशिक रोजगारीको पीडासँगै बढ्दो महङ्गीले घरव्यवहार चलाउनेलाई समस्या परेको गीत मार्फत प्रस्तुत गरे ।

‘महङ्गीले आकाश छोयो यति मन रुँदैन
हजार लेर बजार गयो एक छाक हुँदैन’

पछिल्लो सयम ‘साउण्ड सिस्टम’ प्रयोग गरेर तीजका गीत गाउने प्रचलन रहिररेका बेला कतिपय ठाउँमा महिलाहरु आफ्नो संस्कार संस्कृति संरक्षणमा निरन्तर लागिरहेका छन् । उनीहरु भड्किलो तरिकाले नाचगान गर्नेभन्दा पनि आफ्नै समाजका भोगाइ गीतमार्फत प्रस्तुत गरिरहेका छन् ।

शिक्षाविद् रमाकान्त सापकोटाले तीजका गीतमा सधैं समाजको यथार्थ झल्कने गरेको बताए ।

‘कुनैबेला श्रीमान मरेपछि सती जाने परम्परा रहेको समाजमा त्यही खालको गीत गाइने गरेको थियो’, उनले भने,‘देउरानी, जेठानी र सासु बुहारीका कथा हुँदै अहिले वैदेशिक रोजगारीका कुरासम्म तीजका गीतमा आउने गरेका छन् ।’

उनले महिलाहरुले सधैं सामाजिक मुद्दा उठाउने गरेको भन्दै त्यसले समाजको यथार्थ चित्रण गर्ने गरेको अनुभव रहेको सुनाए ।

‘देशमा राजनीतिक परिवर्तन भएपछि सामाजिक रुपमा पनि ठूलो परिवर्तनको अपेक्षा नागरिकमा थियो, त्यो परिवर्तन नदेखिएपछि युवापुस्ता विदेश लागे, यहाँ बस्नेहरुले विछोडको गीत गाउनु स्वभाविक हो’,उनले भने ।

भ्रष्टाचार र समाजको बेथितिकाविरुद्ध तीज गीतमार्फत महिलाहरुले सधैं आवाज उठाउनुपर्ने सापकोटाको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *