देश

विपिन जोशीको सकुशल रिहाइको माग

काठमाडौं । प्यालेस्टिनी आतङ्कवादी समूह हमासको नियन्त्रणमा रहेको भनिएका कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशीको सकुशल रिहाइको माग गर्दै आज महेन्द्रनगरमा प्रदर्शन गरिएको छ ।

विपिनका परिवारसँगै आफन्तले जोशीको रिहाइका लागि माग गर्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीमार्फत परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । “आफ्नै छोरा सम्झेर जस्तो अवस्थामा भए पनि मेरो छोरालाई ल्याइदिनूस्,” आमा पद्माले भक्कानिँदै भनिन् , “जतिसक्दो चाँडो छोराको उद्धार गरिदिनूस् ।”

इजरायली सरकारले विपिन हमास समूहको नियन्त्रणमा रहेको पुष्टि गरेपछि उनको परिवारमा केही आशा पलाएको छ । विपिनका बुबा महानन्द जोशीले विपिन सकुशल नेपाल फर्किने आशा रहेको बताए । “हामीलाई अझै आशा छ सरकारले छोरालाई सकुशल उद्धार गर्नेछ,” महानन्दले भने , “हामी विपिनको प्रतीक्षामा छौँ, तिहार अगावै छोराको उद्धार गरेर घर ल्याइदिनूस् ।”

नेपाल सरकार, संयुक्त राष्ट्रसङ्घ र मानव अधिकारवादी सङ्घसंस्थाहरूले तत्काल छोराको उद्धारमा सहयोग गर्न आग्रह गरे । ¥यालीमा जोशीका बुबासँगै आमा पद्मा र बहिनी पुष्पा पनि सहभागी थिइन् । महेन्द्रनगरको मदन चोकबाट सुरु गरिएको ¥याली बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा पुगेर समापन गरिएको हो ।

प्रशासनमा पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र पनि बुझाइएको छ । ज्ञापनपत्र बुझ्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले विपिनको उद्धारका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताए ।

सुदूरपश्चिम विश्वविद्यालयको टीकापुर क्याम्पसमा कृषि सङ्कायमा आठौँ सेमेष्टरमा अध्ययनरत जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत भदौमा इजरायल गएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *