देश

विदेश गएका नेपाली युवा फर्काउँछु भन्ने रास्वपा अहिले विदेशमा संगठन विस्तार गर्दै

काठमाडौं । राजनीतिमा भन्ने एउटा, गर्ने अर्कै हुन्छ । हात्तीको देखाउने र चपाउने दाँत फरक हुन्छ भनेझैं निर्वाचनमा जनतालाई भ्रम छरेर लोकप्रिय भएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी अहिले विदेशिएका नेपाली युवायुवतीकहाँ पुगेर संगठन विस्तार गर्न लागिपरेको छ ।

चुनावका बेला रास्वपा सभापति लामिछानेले विदेश गएका नेपाली फर्काएर देशमै बस्ने घोषणा गरेका थिए । जसकारण रास्वपाले चुनावमा राम्रै सफलता पनि पायो । तर चुनाव सकिएको एक वर्षमै रास्वपाको नेतृत्व अहिले विदेश पुगेको छ । रास्वपाले आगामी निर्वाचनकेन्द्रित प्रवास रणनीति बनाएको छ । प्रवासमा संगठन बलियो बनाउने र मिसन ८४ सफल पार्ने उसको दाउ छ । रास्वपाको हालै सम्पन्न बैठकले वैदेशिक रोजगारीमा गएका नेपालीलाई प्राथमिकतामा राख्ने निर्णय गरेको थियो ।
प्रवासमा रहेका मतदातासँग नजिकिन र उनीहरूको मन जित्न आवश्यक रहेको रास्वपाको विश्लेषण छ । यसैअनुसार रास्वपा नेताहरूले आइतबारबाट विदेश यात्रा थालेका छन् । उल्लेख्य शुभेच्छुक संख्या रहेको दाबी गरेको मलेसियाबाट नेताहरूको यात्रा सुरु भएको छ । प्रवासमा संगठन निर्माण र विस्तार अभियानमा रास्वपा सभापति रवि लामिछाने स्वयं सक्रिय भएका छन् । विदेश यात्रामा लामिछानेसँगै पत्नी निकिता पौडेल, सहमहामन्त्री एवं संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटी र सहकोषाध्यक्ष दीपक बोहरा सहभागी छन् । मलेसिया पुगेर रविले युवाहरुलाई नेपाल फर्काउने दाबी गरे ।

प्रवासका मतदातासँग नजिकिने रणनीतिमा रहेका रास्वपा सभापति लामिछानेले आफू राजनीतिमा आउनुको प्रमुख कारण नै विदेशमा रहेका नेपाली बताएका छन् । ‘अवसर र रोजगारका लागि विदेश जानुपर्ने बाध्यता, जीविकोपार्जनकै लागि विभिन्न मुलुकमा दुःख–कष्ट सहनुपर्ने परिस्थिति र स्वाभिमानमै चोट लाग्ने गरी झुक्नुपर्ने हाम्रो नियति परिवर्तन हुनुको सट्टा बढिरहेको छ,’ उनले आइतबार मलेसिया पुगेपछि फेसबुकमै लेखे, ‘म राजनीतिमा आउनुको एउटा मुख्य कारण, विदेशमा रहेका नेपाली पनि हुन् ।

विदेशमा रहँदा तपाईंकै समस्या समाधानका लागि सार्थक पहल गर्न सकूँ, देशमा बस्न सक्ने वातावरण बनाउँदै अघि बढूँ र तपाईंको विश्वासमा खरो उत्रन सकूँ भन्ने हो । मलेसिया, कतार र बेलायतमा रहनुभएका नेपाली दाजुभाइ, दिदीबहिनीसँग भेटघाट तथा अन्तक्र्रिया गर्न, उहाँहरूको साथ, सहयोग र शुभेच्छाका लागि धन्यवाद दिने कार्यक्रमअन्तर्गत अहिले म मलेसियामा छु ।’

मलेसिया हुँदै रास्वपा टोली युरोपका विभिन्न देश पुग्ने योजनामा छ । त्यहाँ पुगेर रास्वपाले पार्टीको जनसम्पर्क समिति गठन गर्ने छ । जुन अन्य दलका नेताले पनि गरेकै छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *