देश

मिटरब्याज पीडितसँगको वार्ता निष्कर्षविहीन, आन्दोलन जारी रहने

काठमाडौं।मिटरब्याज पीडित र सरकारबीचको तेस्रो दिनको वार्ता बिनानिष्कर्ष सकिएको छ।

मिटरब्याज पीडित र सरकारबीचको तेस्रो दिनको वार्ता बुधबार गृह मन्त्रालयमा भएको थियो। सो वार्तामा पनि समस्या समाधानका लागि ठोस निर्णय हुन नसकेको हो।

वार्तापछि सञ्चारकर्मीहरूसँग मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति नेपालका अध्यक्ष अवदेश कुसवाहले सरकारले मिटरब्याज पीडितको समस्यालाई गम्भीरतापूर्वक लिएको भएपनि समस्या समाधान गर्ने विषयमा निष्कर्ष ननिस्किएको बताए। उनले आफूहरूको आन्दोलन जारी रहने बताए।

उनले आफूहरूको माग फर्जी लिखत, तमसुक, दृष्टिबन्धक, छिनुवा, सम्पूर्ण चेकलाई अवैध घोषणा गर्नुपर्ने, साहुले जफत गरेका सम्पूर्ण सम्पत्ति फिर्ता गर्नुपर्ने, अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्नुपर्ने लगायत रहेको बताए। त्यस्तै साहुकारको सम्पत्ति शुद्धिकरण गर्नुपर्ने पनि आफूहरूको माग रहेको उनको भनाई छ ।

त्यस्तै अदालती प्रक्रियालाई स्थगित गर्नुपर्ने र अदालतबाट फैसला भइसकेका केसहरू आयोगमा झिकाइ पुनरावलोकन गर्नुपर्ने पनि आफूहरूको माग रहेको उनले बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *