कला/साहित्य

पुस्तक समीक्षाः ‘वसन्त रितु’ मा सबै जाति र भाषा फलाउने–फुलाउने सन्देश

काठमाडौँ। गत महिना डा पुरण राईले एकै चोटि आफ्ना पाँच कृति प्रकाशनमा ल्याए र फागुन १३ गते सबैको एकै पटक विमोचन पनि गराए । एकै समयमा एकै व्यक्तिले कथासङ्ग्रह, नाटकसङ्ग्रह, दैनिकी, अनुसन्धानात्मक र उपन्यास गरी फरक फरक विधाका यति धेरै पुस्तक प्रकाशन गर्ने काम कृतिगत अभिलेखमै आउने काम हो र यो जो पायो उसले गर्न सक्दैन पनि ।

यसअघि पनि नेपाल एयरला

इन्स, त्रिभुवन विमानस्थल, काठमाडौँमा कार्यरत डा राईका ‘मेरो देशको भूगोल’, ‘डायस्पोराः लाहुरे स्रष्टा र कविता’ र ‘ब्रिटिस गोर्खा सैनिक साहित्यको इतिहास’ गरी कविता, समालोचना र इतिहाससम्बन्धी तीन कृति प्रकाशन भइसकेका छन् ।

अनलाइन अभिलेख प्रालि र पालिका अभिलेख प्रालि, काठमाडौँद्वारा यसै साल प्रकाशित ‘आप्रवासी नेपाली कवितामा अलङ्कार विधान’ कृति अलङ्कार विधानमा नै केन्द्रित भएर गहन अध्ययनका साथ तयार पारिएको पहिलो शोधप्रबन्ध मानिन्छ जुन नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि गर्दाको शोधमा आधारित छ ।

उनका अन्य कृतिमा ‘अस्तु’ कथासङ्ग्रह, ‘लासमाथिको मानवता’ नाटकसङ्ग्रह, ‘डरका बिम्बहरू’ कोभिड डायरी र ‘वसन्त रितु’ उपन्यास हो । ‘अस्तु’ कथासङ्ग्रहमा कोरोना भाइरस र अन्तरजातीय प्रेम तथा विवाहसम्बन्धी आठ कथा छन् । यसमा महामारी र अन्तरजातीय प्रेम तथा विवाहले सिधासोझालाई निम्त्याएको विपत्ति, शोषण, उजाडिएको गाउँ, वृद्धवृद्धा–केटाकेटी मात्र रहेको बस्ती आदि विषय आएका छन् ।

नाटकसङ्ग्रह ‘लासमाथिको…’ मा रहेका चार नाटकले नेपाली समाज, सामाजिक मनोविज्ञान र सामाजिक यथार्थलाई विवेचन गरेको छ । समाजले निःसन्तानलाई हेय दृष्टिले हेर्ने गरेकाले सन्तानका लागि भाडामा कोख लिनुपर्ने बाध्यता र मातृत्वको वियोग, लाहुरे बन्नुपर्ने बाध्यता र त्यसमा पाएका दुःख, दलित महिलाले भोग्नुपरेको पीडा, अहिलेका युवाले बाबुआमालाई गर्ने अपमान र तिरस्कार जस्ता विषयवस्तु पनि यसमा अटाएको छ ।

‘डरका…’ कोभिडकालीन डायरी हो । त्यसमा विसं २०७६–७८ सम्मका दैनिकी छन् । कोरोना महामारीको भयावहावस्थालाई समेटेर लेखकले एउटा दर्दनाक कालखण्डलाई यसमा उनले अभिलेखीकरण गरेका छन्। यो खोटाङ, बुइपाबाट आउनुभएका एक हवाई उडानकर्मीले नजिकैबाट देखेका, जानेका र सुनेका घटनाको दस्तावेजीकरण पनि हो ।

समीक्ष्य कृति ‘वसन्त रितु’ उनको पहिलो उपन्यास हो । त्यसमा अन्तरजातीय विवाह र त्यसपछि उत्पन्न घटना तथा समस्या केन्द्रमा छन् । राई वंशको केटो ‘वसन्त’ र ब्राह्मण कुलकी केटी ‘रितु’ बिच अन्तरजातीय विवाह भएकाले गाउँबाट सो जोडी भाग्न विवश हुन्छ । त्यसबाट केटाका घरमा केटी पक्षले आगो लगाउँछ, उसका बाआमा गाउँबाट खेदिन्छन् । अनि बाबुआमा र छोराबुहारीसमेतको परिवार अलगथलग हुन्छन् ।

उपन्यासका नायक वसन्त तथा नायिका रितु अर्कै गाउँ र सहरमा भौँतारिरहेका हुन्छन् । विद्यालयको प्रतिभाशाली विद्यार्थी, शिक्षक हुँदै निर्माण व्यवसायी र पछि फेरि शिक्षक नै बनेका वसन्त सशस्त्र द्वन्द्वमा पनि सहभागी हुन्छन् र गिरफ्तार भए पनि भागेर बाहिरिन सफल भएको प्रसङ्ग पनि कृतिमा देखाएर उपन्यासकारले नेपालको दस वर्षे एक कालखण्डलाई समेट्न सकेका छैनन् ।

वसन्त–रितुले आफ्नो सन्तानका रूपमा छोरी मौसम जन्मेपछि उनलाई चिकित्सक बनाउने अठोट लिएर रुसमा पढ्न पठाउँछन् । उनी नै स्वदेश आएर गाउँमा आयोजना गरिएको स्वास्थ्य शिविरमा सहभागी हुँदा अलग भएका परिवार–कुलकुटुम्बको भेट हुन्छ र परित्यक्त गाउँमा विशाल उद्यान र स्वास्थ्य केन्द्र खोल्ने योजना तथा काम हुन्छ ।

कथा सारांशमा यही भए पनि यसले ठुलो सन्देश दिएको छः नेपाललाई नै सबै जात र भाषाभाषी, संस्कृति, धनी–गरिबको साझा फुलबारी बनाउने । अन्तरजातीय प्रेम र विवाह गर्ने वसन्त र रितु तथा तिनकी चिकित्सक छोरी डा मौसम, वसन्तरितुका साथी स्मृति र उनका लाहुरे पति उद्गम एवं चिकित्सक छोरा डा एलमहाङ तथा गाउँका ठालु जिमलघरे र उसका सम्धीसम्धिनी राईकान्छो र उनकी पत्नीको अन्त्यमा मिलन देखाएर समाज परिवर्तनमा जातीयता तगारो बन्न नहुने सन्देश देखाइएको छ ।

अझ नेपालको नक्साको स्वरूपमा विशाल ग्रामीण उद्यान बनाएर त्यसमा नेपालका एक सय २३ भाषाको प्रतिनिधित्व गर्ने गरा र एक सय २५ जाति सङ्केत गर्ने वर्गाकार भूभागमा नेपालका सबै ऋतुमा फुल्ने फूल रोपिएको छ (विसं २०७८ को बाह्रौँ राष्ट्रिय जनगणनामा भने भाषा एक सय २४ र जाति एक सय ४२ पुगेका छन्_ । अनि उद्यानका चारैतिर सबै जातिको सांस्कृतिक पहिचान झल्कने घर निर्माण गर्ने योजना पनि बनाइएको छ । यसरी उपन्यासकारले जातीय समानता र राष्ट्रिय भावधारामा सबै नेपाली जनतालाई समाहित गर्नुपर्ने विशाल सन्देश कृतिमा दिएका छन् ।

“…यहाँ हरेक वर्ष ऋतु दिवस मनाइनेछ, फूल दिवस मनाइनेछ । यहाँ हरेक वर्ष फूलहरूको ठुलो मेला लाग्नेछ । यहाँ को साना जात, को ठुलो जात, को छुत को अछुत केही हुँदैन । यो जातबारी होइन, फूलहरू फुल्ने फुलबारी हुनेछ । …”, कृतिको मुख्य पात्रमध्येका वसन्तको मुखबाट अभिव्यक्त यस कथनले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको “यो सबै जातको फुलबारी हो…” भन्ने दिव्योपदेशलाई पनि आत्मसात् गरेको छ ।

परम्परागत ढङ्गबाटै लेखिएको औपन्यासिक कृतिमा वर्णविन्यासगत र वाक्यगत दोष तथा मुद्राराक्षस ठाउँ ठाउँमा भेटिन्छन् । केही वाक्यमा नेपाली व्याकरणमा प्रयुक्त हुने वचन र लिङ्गसम्बन्धी नियम पनि भङ्ग भएको पाइन्छ । नेपाली साहित्यमै विद्यावारिधि गरेका डा राईले ‘प्राकृतिक अवस्थाअनुसार वर्षभरिको दुई दुई महिनाका दरले फेरिने वातावरणिक स्थिति वा त्यसअनुसार हुने समय विभाजन’ लाई बुझाउने संस्कृत शब्द ‘ऋतु’ का सट्टा ‘रितु’ शब्द शीर्षकमै राखेकाले पाठक अन्योलमा पर्न सक्छन् ।

नेपाली समाज विभिन्न जातीय भावना, साम्प्रदायिकता, धार्मिकता, असहिष्णुता तथा वाद र विचारमा विखण्डित भइरहेको अहिलेका अवस्थामा कृतिले पाठकलाई राष्ट्र–राष्ट्रियताको भावना जागृत गर्नाका साथै सङ्कुचित जातीयताको घेराबाट माथि उठ्न भने प्रेरणा दिने नै विश्वास गर्न सकिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *