काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बुढीगण्डकी जलविद्युत आयोजना नेपालीहरूकै लगानीमा बन्नुपर्ने प्रस्ताव गरेका छन् ।
स्वदेशमा तथा विदेशमा रहेका नेपालीहरूको लगानीमा सो आयोजना सम्पन्न गर्ने काम सरकारले गर्नुपर्ने उनले बताएका हुन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै महामन्त्री शर्माले मेरो सहभागितामा नेपाल बन्दैछ भन्ने कुराको सन्देश दिन पनि नेपाल भित्र र बाहिर रहेका नेपालीहरूको लगानीमा सो आयोजना सम्पन्न गर्न उपयुक्त हुने धारणा पनि राखे ।
उनले नेपाल बन्नसक्छ र यो उज्यालो दिशातर्फ अगाडि बढ्दै छ भन्ने सन्देश दिन पनि सरकारले १२ सय मेगावाट क्षमताको सो आयोजनाको निर्माण कार्यमा ढिलाइ गर्न नहुने बताए । उनले वैदेशिक ऋणको पासोमा पर्नबाट जोगिन पनि सरकारले वैदेशिक ऋण लिएर यस्ता ठूला आयोजनाहरू अघि बढ्न नहुने बताए । महामन्त्री शर्माले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दाका ऋण तिर्न नसकिने अवस्था विद्यमान रहेको पनि स्मरण गराए ।
उनले भने ‘म आज बुढिगण्डकी परियोजनाको सन्दर्भमा अन्तिममा यति आग्रह गर्न चाहन्छु । यो परियोजना निर्माण गर्ने सन्दर्भमा हामीले कदम चाल्दै गर्दा सत्ता, प्रतिपक्ष हामी सबै एक छौं । सबै आग्रह पूर्वाग्रहभन्दा माथि उठेर स्वदेश र विदेशमा भएका समस्त नेपालीलाई गाँसी राखेर यो परियोजना निर्माण गरेर नेपाल बन्नसक्छ, बन्दै छ । र मेरो सहभागितामा बन्दैछ । नेपाल बन्ने एउटा उज्यालो दिशातिर जाँदै छ भन्ने सन्देश दिनका लागि सरकार सफल बन्नुपर्छ । हामी माझ चर्चामा रहेको परियोजना हो बुढिगण्डकी । अघिल्ला बजेटहरूमा पनि हामी बुढी गण्डकी बनाउने लेख्दै आयौँ । बनाउने त बनाउने । तर, कुन पैसाले बनाउने रु एउटा विकल्पको रुपमा हामीले सोच्यौँ कि विदेशीको पैसाले बनाउने । केवल विद्युत् उत्पादन मात्रै हो भने त विदेशीलाई दिँदा केही फरक पर्दैन । तर यो बहुउद्देश्यीय परियोजना हो ।
पहिलो त १२ सय मेगावाट विद्युतको कुरा छ । दोस्रो, हजारौं हेक्टरमा सिँचाइ, तेस्रो, लाखौँले पीउने पानी । चौथो, पर्यटन । सहायक प्रोजेक्टको रुपमा माछा पालन । विदेशी कम्पनीलाई नदिने हो भने अर्को विकल्प विदेशबाट ऋण लिने । हामी यसमा सोच्न सक्दछौँ सभामुख महोदय । सहुलियत ऋण भेटिए ठिकै हो । तर कतिपय देशहरू ऋणको पासोमा परिरहेको हामीले देखेका छौं । हामीले ऋणले बनाएका पोखरा र भैरहवाको एयरपोर्टले हामीलाई झस्काएका छन् । अर्को विकल्प उसो भए हामी आफैँ बनाउने । अलि अघिल्लो सरकारले निर्णय गर्यो–यो आयोजना आफ्नै लगानीमा बनाउने ।
हामी सत्ता, प्रतिपक्ष सबै दल त्यसमा सहमत छौ । अव प्रश्न छ–१८ खर्व बजेटमा ४ खर्व बजेट कसरी हाल्ने ? पूर्व–पश्चिम रेलमार्ग बनाउने योजना बन्यो । माटो भर्ने, कंक्रिट भर्ने, रेलको डब्बा ल्याउने यी सबै कुरा छोडौँ । हामीले माटो र बाटोका लागि मुआब्जा दिन सकेको अवस्था छैन । दुइटा अन्तर्राष्ट्रिय विमानस्थलहरू हामीले बनायौँ । त्यसलाई ऋण तिर्नका लागि पैसा छैन । कुलेखानीबाट भिमफेदीसम्म सुरुङ मार्ग बनाउनका लागि अध्ययन गरियो । बनाउनका लागि पैसा छैन । ’
महामन्त्री शर्माले सो आयोजना अघि बढाउनका लागि सत्ता पक्ष र प्रतिपक्ष सबै एक भएर अघि बढ्नुपर्ने बताए ।