काठमाडौं । नेपालगञ्जकी निर्मला कुर्मी बेपत्ता प्रकरणमा रुबी खानसहितको समूहसँग गृह मन्त्रालयले तीन बुँदे सहमति गरेको छ । सहमतिअनुसार कुर्मी प्रकरणको शीघ्र निरुपणका लागि प्रहरी प्रधान कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय, बाँकेलाई लेखी पठाउने निर्णय भएको छ ।
योसँगै खानसहितका महिलाहरुले गरेको आन्दोलन स्थगित भएको छ । सहमतिमा गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङ र रुबी खानले हस्ताक्षर गरेका छन् । नेपालगञ्जबाट बेपत्ता निर्मला कुर्मीको न्याय माग्दै प्रदर्शन गर्दै आएको समूहसँग गृह मन्त्रालयले वार्ता गरेको हो ।
खानको नेतृत्वमा डेढ महिनादेखि नेपालगञ्जका महिलाहरूले कुर्मीको न्याय माग्दै आन्दोलन गरिरहेका थिए । सरकारले खानसँग यसअघि नै चार पटक सहमति समेत गरिसकेको थियो । पाँचौँ पटक उनी कुर्मी बेपत्ता प्रकरणको अदालतसम्म पुर्याइ दिन माग गर्दै प्रदर्शनमा उत्रिएकी थिइन् । खानको समूहले सोमबार सत्तारुढ नेपाली कांग्रेसको सानेपास्थित कार्यालयमा समेत धर्ना दिएको थियो ।