
काठमाडौं । आफ्नो ज्ञान, सीप र क्षमताको उपयोग गरी निर्माण वा रचना गरेका यावत् सिर्जनाअनुरूपको जीवनशैलीलाई संस्कृति मानिन्छ । कुनै भौगोलिक क्षेत्रमा बसोबास गर्ने र विभिन्न कालखण्डमा भिन्न समुदायले सिर्जना गरेका भौतिक सम्पदा र त्यसअनुरूपको जीवनशैली नै संस्कृति हो ।
यस्तै संस्कृति समेटिएका राष्ट्रिय समाचार समिति (रासस ) का फोटो पत्रकारले खिचेका र सम्पादन कक्षबाट सेवाग्राहीमा सम्प्रेषण भइसकेका नेपालका विभिन्न चाडपर्व, जात्रा, मेला महोत्सव तथा मठमन्दिर, गुम्बा, चैत्य, ताजियाजस्ता मूर्त/अमूर्त संस्कृति एवं सम्पदासम्बन्धी सङ्ग्रहित तस्बिरको प्रदर्शनी यही जेठ ११ गतेदेखि राससमा चलिरहेको छ ।
‘गणतन्त्र दिवस २०८०’ का अवसरमा आयोजित ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ शीर्षक राखिएको प्रदर्शनीमा सातै प्रदेश एवं काठमाडौँ उपत्यकाका गरी ७७ तस्बिर समाविष्ट गरिएका छन् ।
तस्बिरले नेपालको संस्कृति र सम्पदालाई एकै थलोमा प्रष्ट्याउने प्रदर्शनी अवलोकन गरिरहेका मध्येका एक अवलोकनकर्ता वैकुण्ठराज पराजुलीले बताए। “देशको हरेक समुदायको सांस्कृतिक प्रतिनिधित्व छ, सहरिया बनिरहेको पछिल्लो पुस्तालाई दुरदराजको आफ्नो देशको कलासंस्कृति बुझ्न राम्रो मद्दत गरेको छ”, अवलोकनकर्ता पराजुलीले भने । प्रदर्शनीमा फोटो पत्रकारिता गरिरहेकासँगै युवाको उपस्थिति देखिएको छ ।
मुलुकका सबै भूगोलमा बस्ने सम्पूर्ण जाति, जनजाति, भाषाभाषी, सम्प्रदाय एवं धर्मावलम्बीलाई एउटै राष्ट्रिय भावधारामा समाहित गर्न रासस सांस्कृतिक तस्बिर प्रदर्शनीले योगदान पु¥याउने विश्वास गरिएको छ । संस्थाले यसअघि पनि आफ्ना वार्षिकोत्सव समारोहमा तस्बिर प्रदर्शनी गर्दै आएको छ ।
युवापुस्ताले भिन्न संस्कृति र सम्पदालाई तस्बिरमार्फत अवलोकन गरिरहेका छन् । नेपालमा समुदायपिच्छे फरक कला र संस्कृति छन् । यसलाई एकै थलोमा हेर्न र बुझ्न तस्बिर प्रदर्शनीले मद्दत गरेको छ ।
राज्यद्वारा सञ्चालित राससले आफ्नो समाचार सेवामा समेत वृद्धि गर्ने क्रममा गत साउन १ गतेदखि औपचारिकरुपमा श्रव्यदृश्य (भिडियो) सेवा सञ्चालनमा ल्याएको छ । विसं २०१८ मा स्थापना भएको राससले नेपाली समाचार, अन्तर्राष्ट्रिय समाचार, अङ्ग्रेजी समाचार, आलेख (फिचर), फोटो (स्वदेशी र विदेशी) र अडियो सेवासँगै श्रव्यदृश्य सेवा पनि आफ्ना ग्राहकलाई उपलब्ध गराउँदै आएको छ ।