
ताप्लेजुङ।प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षमा ३ करोडभन्दा बढी भेटी संकलन भएको छ ।आर्थिक वर्ष २०७९/८० मा ३ करोड १९ लाख १६ हजार ८ सय भेटी संकलन भएको हो ।
नोट पैसा २ करोड ८५ लाख ६२ हजार चार सय ९८, सिक्का सटहीबाट ८ लाख १५ हजार ६ सय, दाताले बैंकमा जम्मा गरिदिएको १४ लाख ५४ हजार ४ सय ३ र भेटीवापतको भारु १० लाख ८४ हजार ३ सय संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
समितिका कायकारी निर्देशक मनमणि काफ्लेका अनुसार अघिल्लो आवमा भने २ करोड १४ लाख भेटी संकलन भएको थियो । उनले समितिको कोषमा ७ करोड ८८ लाख १० हजार २ सय पाँच जम्मा रहेको बताए ।
पाथीभरामा चढाइएको सुनचाँदी भने अलग्गै छ । यसलाई तौल गर्ने, गाल्ने र बिक्री गर्ने छुट्टै समिति बनाइएको समितिका सदस्य पृथ्वी पालुङ्वा जानकारी दिए ।
भेटीबाट संकलित रकमले करार र ज्यालादारीमा कर्मचारी व्यवस्थापन, फोहोर व्यवस्थापन, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीका लागि खाना, खाजा बन्दोबस्ती गर्ने र समस्या पर्नेलाई उद्धार गर्नेलगायत काम हुने गरेको क्षेत्र विकास समितिले जनाएको छ ।
समितिले संकलित रकमबाट चालु आवमा माथिल्लो फेदीबाट मन्दिरसम्म फाइबरको ट्रस लगाउने र मन्दिर परिसरमा खानेपानी ट्यांकी बनाउने निर्णय पनि गरेको छ । सममितिका अनुसार पाथीभरामा ४७ देशको मुद्रा संकलन भएको छ ।