
मंसिरको निर्वाचनपछि पुस १० गते नेपालको राजनीति एकैपटक अर्कै दिशाबाट अघि बढ्यो । पाँचदलीय गठबन्धन टुटेर एकाएक नयाँ उदय भएका पार्टीको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बने । नयाँ गठबन्धन बनाउन एमाले अध्यक्ष केपी ओलीको मुख्य भूमिका खेलेका थिए । वाम तालमेलपछि नेकपाकालीन सम्बन्धमा देखिएको तिक्तता त्यागेर प्रचण्ड र ओली एक ठाउँमा उभिन आइपुगेका थिए । तर दुवैबीच हार्दिक सम्बन्ध थिएन । अविश्वास कायमै थियो । यस्तै अविश्वासबाट सरकार गठन भएर अघि बढ्दै थियो ।
तर जब पुस २६ गते प्रधानमन्त्रीलाई नेपाली कांग्रेसले विश्वासको मत दियो, एकाएक नेपालको राजनीति अलग ढंगबाट हिँड्न थाल्यो । ओलीको निरंकुश शैलीबाट आजित भएका प्रचण्डले ठूलै राहतको सास फेरे । त्यसपछिको डेढ महिना ओली र प्रचण्डबीच भेटघाटको शृंखला चलिरह्यो । राष्ट्रपति एमालेले पाउनुपर्ने एउटै मुद्दामा ओली र प्रचण्डबीच २४ पटक भेटघाट भयो । तर कुनै निकास निस्केन ।
जब माओवादीले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने निर्णय लियो, तब दुई महिनाअघि बनेको गठबन्धन गल्र्यामगुर्लुम ढल्यो । राष्ट्रपतिको उम्मेदवारी मनोनयन भएको भोलिपल्टै केपी ओलीले प्रधानमन्त्री प्रचण्डमाथि मानमर्दन हुने गरी अशिष्ट भाषा प्रयोग गरेपछि दुईबीच भेटघाट र बोलचाल मात्र टुटेको छैन, एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिन पुग्यो । र, सरकारबाट बाहिरियो ।
दुई महिनाअघि बनेको सातदलीय गठबन्धन भताभुंग मात्र भएको छैन, त्यसको असर केन्द्र सरकारदेखि प्रदेश सरकारसम्म पर्ने भएको छ । एमाले केन्द्र सरकारबाट बाहिरिए पनि प्रदेशमा भने गठबन्धन नै छ । माओवादीले समर्थन फिर्ता लिएको दिन एमालेका सबै मुख्यमन्त्रीको पद गुम्नेछ । अहिले प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकार छ । बागमती प्रदेश र कर्णालीमा माओवादी नेतृत्वको सरकार छ । तर एमाले सरकारबाट बाहिरिएको छैन । यी दुई प्रदेशमा सरकारबाट बाहिरिएमा तीनवटा प्रदेशमा आफ्नो सरकार ढल्ने चिन्ता एमालेमा देखिएको छ ।
एमाले गठबन्धन टुटाएपछि अब के गर्ने भन्ने मुख्य दायित्व नेपाली कांग्रेसमा आएको छ । एमाले जस्तो सशक्त संगठनलाई प्रचण्ड एक्लैले तह लगाउन सक्ने अवस्था छैन । त्यसैले अहिले सरकारमा सहभागी नभए पनि सबैको नजर कांग्रेसले के गर्छ भन्नेतिर गएको छ । नबोलीकन राजनीतिक कोर्स करेक्सन गरेका कांग्रेस सभापति शेरबहादुर देउवाले अब कस्तो स्टेप चाल्लान् भन्नेमा सबैको चासो छ ।
देउवा राष्ट्रपति निर्वाचनसम्म मौन बस्ने संकेत देखिएको छ । त्यसपछि पार्टी र गठबन्धनका दलसँग एउटा समझदारी बनाइसकेपछि देउवाले एकैपटक केन्द्र र प्रदेश सरकार परिवर्तन गराउने गरी छलफल थाल्ने कांग्रेस नेताहरू बताउँछन् । प्रचण्ड नेतृत्व सरकार बनेको दुई महिनामा कांग्रेस सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले जे जसरी भूमिका खेले त्यसबाट आगामी दिनमा पनि कांग्रेसले सुझबुझ ढंगले राजनीति अघि बढाउने सबैको अपेक्षा छ । सबैभन्दा पहिले देशको बिग्रेको अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याउनुपर्नेमा कांग्रेसले विशेष भूमिका खेल्नुपर्ने र त्यसलाई नेतृत्व दिन सक्ने व्यक्तिलाई सरकारमा सहभागी गराउनुपर्ने आवाज उठेको छ ।