
६५ वर्षको अनवरत क्रियाशीलतापछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशकै सर्वोच्च पद प्राप्ति गरेका छन् । पार्टी र देशको कार्यकारी भूमिका निर्वाह गर्ने अवसर नपाए पनि उनले जीवनको उत्तराद्र्धमा राष्ट्रपति पद पाएका छन् ।
राजनीतिमा सधैं एकअर्काको प्रतिस्पर्धा, निकट र अलग हुँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पौडेललाई शीतल निवासमा पठाउन अहं भूमिका निर्वाह गरेका छन् । राजनीतिबाट सन्न्यास लिने घोषणा गरेका पौडेललाई घरमै गएर देउवाले देशले अझै तपाईको भूमिका खोजेको भनेर सँगै हिँडाए ।
सादगी जीवनका पर्याय पौडेलको शीतल निवास यात्रापछि नेपाली कांग्रेसमा पहिलो पुस्ताका दुई नेताप्रति सबैको विश्वास र भरोसा बढेको छ । राष्ट्रपति निर्वाचित भएलगत्तै बिहीबार राति पौडेलले संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी मार्गदर्शन सिद्धान्त रहेको बताएका छन् । ‘राष्ट्रपति संस्थाले निर्वाचन गर्ने भूमिकाले संविधान र शासनको व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सचेत रही निर्दिष्ट कार्यसम्पादन तथा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिबद्ध रहने प्रण गर्दछु ।
नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै मेरा लागि मार्गदर्शन सिद्धान्त रहनेछन्,’ पौडेलले भनेका छन्, ‘राष्ट्रपतिको काम, कर्तव्य तथा जिम्मेवारी बहन गर्दा संविधानप्रदत मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसात गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने राष्ट्रिय अभियानमा सरिक हुन सदैव तत्पर रहनेछु ।’ यो प्रतिबद्धताले पनि पौडेलले संविधानको संरक्षकको भूमिका राम्रोसँग निर्वाह गर्ने विश्वास गरेका छन् ।
राष्ट्रपति पद प्राप्ति गरेपछि नेपाली कांग्रेसको पहिलो रणनीति सफल भएको छ । यसमा सबैले कुशल भूमिका निभाएका छन् । एमाले अध्यक्ष केपी ओली जस्तो कुटिल नेताको गठबन्धनलाई भत्काएर राष्ट्रपति पद प्राप्ति गर्नु कांग्रेसको ठूलो रणनीतिक जित हो । यसमा कांग्रेस सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कुशल संयोजनकारी भूमिका निभाएका छन् ।
त्यसैले अहिले कांग्रेसको पहिलो पुस्तासँगै दोस्रो र तेस्रो पुस्ताप्रति सदभाव र विश्वास बढेको छ । उपराष्ट्रपतिको निर्वाचनलगत्तै नेपाली कांग्रेस सरकारमा जानेछ । कांग्रेसले अहिलेको बिग्रेको अर्थतन्त्रलाई उकास्ने र सुशासन दिन सक्ने योग्य नेता सरकारमा पठाउनुपर्छ । कांग्रेसका ८८ सांसदमध्ये सबै नै राज्यसत्ता चलाउन सक्ने खुबी भएका नेता छन् । तर पनि पुराना र नयाँलाई मिलाएर सभापति देउवाले सरकारमा पठाउने धेरैले अपेक्षा गरेका छन् ।
ओलीको पिँजडाबाट मुक्ति पाउनकै लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूलो जोखिम लिएको धेरैले बुझेका छन् । त्यसैले अब कांग्रेसको दायित्व प्रचण्ड सरकारलाई पूरा कार्यकाल टिकाउन लागिपर्नुपर्ने हुन्छ । त्यही भएर बिहीबार राष्ट्रपतिको निर्वाचनका क्रममा कांग्रेस महामन्त्री गगन थापाले एमालेसँग पाँच वर्ष सहकार्य हुन नसक्ने प्रस्ट पारेको हुन सक्छ । एमाले प्रतिपक्षमा पुगेको छ ।
उसको रणनीति सधैं सरकारलाई अप्ठेरो बनाउने र ढाल्ने हुन्छ । त्यसबाट अलग रहेर कांग्रेसले राजनीतिक स्थायित्व दिनेमा आमजनताले अपेक्षा गरेका छन् । अब कांग्रेस नेताहरू सत्ताको छिनाझिप्टीमा लाग्ने छैनन्, जनम्यान्डेटअनुसार काम गर्नेमा धेरैको विश्वास छ । यदि यसो हुनसकेमा मात्र राजनीतिक कोर्ष करेक्सनको उद्देश्य पूरा हुन्छ ।