
कोभिडको प्रभाव र रुस–युक्रेनबीचको युद्धले नेपालमा मात्र विश्वमै आर्थिक मन्दी छाएको छ । तीन वर्ष कोरोनाको प्रभाव र एक वर्षदेखिको रुस–युक्रेन युद्धले खर्बौं डलरको सम्पत्ति नष्ट भएको छ । यी दुवैका कारण मानवीयसँगै आर्थिक र भौतिक क्षति पनि भएको छ । यसबाट नेपाल जस्तो अल्पविकसित देश प्रभावित नहुने कुरै भएन ।
त्यसमाथि राज्यको नेतृत्वमा पुग्नेको कमजोरी र अक्षमताका कारण समग्र क्षेत्र नै बिग्रिएको छ । यसका बाबजुद पनि आर्थिक गतिविधि प्रभावित हुँदा संकटउन्मुख बनेको अर्थतन्त्र लयमा फर्किन थालेको छ । नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले अर्थतन्त्रमा बाह्य क्षेत्रको स्थिति मजबुत हुनुका साथै आन्तरिक अवस्था पनि विस्तारै लयमा फर्किन थालेको देखाएको छ ।
राष्ट्र बैंकले चालू आर्थिक वर्षको आठ महिनासम्मको आर्थिक अवस्था सार्वजनिक गरेको हो । गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र ट्र्याकमा आएको बताए । उनले अहिलेको समयमा नेपालका बैंकहरूको अवस्था सुरक्षित रहेको पनि बताए । वित्तीय सूचकमा देखिएका सुधारले समग्र बैंकहरूको अवस्था सुरक्षित रहेको उनको भनाइ थियो ।
‘‘समग्रमा बैंकहरूको अवस्था सुरक्षित छ, स्वस्थ छ, सानोतिनो धक्काले जोखिम आउने अवस्था छैन । तथ्यांकहरु पनि बलिया छन्’ भन्ने गर्भनरको भनाइले आशाको सञ्चार गराएको छ । बैंकको ब्याजदर राष्ट्र बैंकले निधारण गर्ने नभई बजारले नै निर्धारण गर्ने उनको भनाइले पछिल्लो समय तरलतालगायत वित्तीय सूचक सहज हुँदै गएकाले बैंकहरू वैशाखदेखि ब्याजदर घटाउन तयार पनि देखिएका छन् । विलासिताका वस्तु आयात, घरजग्गा, महँगा गाडीमा नेपालीको पैसा फसेको विभिन्न अध्ययनले देखाएको छ । सोही कारण पनि अर्थतन्त्रका सबै सूचक ओरालो लागेको हो ।
पुँजीबजारमा राजनीतिक चलखेल हुँदा लगानीकर्तासमेत डराएका छन् । झन् राजनीतिक अस्थिरताका कारण निजी क्षेत्र चलायमान नहुँदा अहिलेको अवस्था आएको हो । मंसिरको निर्वाचनपछि बलियो गठबन्धन बनेर अर्थ मन्त्रालय नेपाली कांग्रेसले सम्हालेपछि परिस्थितिमा धेरै परिवर्तन भएको छ । अर्थशास्त्रमै विद्यावारिधि गरेका डा.प्रकाशशरण महत अर्थ मन्त्रालयको नेतृत्वमा पुगेका छन् । उनलाई समग्र नेपाली अर्थतन्त्रको बारेमा ज्ञान छ । राजनीतिक चेत र अर्थशास्त्रको ज्ञानसमेत भएकाले नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने बेलासम्म धेरै परिवर्तन हुने अपेक्षा गरिएको छ ।
यतिबेला अर्थमन्त्री बजेट निर्माणमा लागेका छन् । उनले त्यसका लागि सबै पक्षसँग छलफल थालेका छन् । टिम नै बनाएर बजेट तयार पारिरहेका अर्थमन्त्री महतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थविद्हरूसँग पनि छलफल थालेका छन् । सहकारीमा देखिएको समस्या, लघुवित्तमा बढ्दो अविश्वासका कारण पनि नेपालको अर्थतन्त्रमा चुनौती देखिएको छ ।
यस विषयमा अर्थमन्त्री महतले सूक्ष्म ढंगले योजना ल्याउने धेरैको अनुमान छ । राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिति १५ प्रतिशतले बढेको देखाएको छ । अब साधारण खर्चमा नियन्त्रण गर्दै विकास खर्च बढाउनेतिर लागेमा चाँडै अर्थतन्त्र ट्रयाकमा आउने धेरैको विश्वास छ ।