
गत बुधबारको प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको थियो । माओवादीका सिन्धुलीबाट विजयी सांसद लेखनाथ दाहाल (राजन) को बोल्ने पालो आयो ।
उनले बोल्दै गर्दा विगतमा केपी ओलीको सरकारका पालामा व्यापक भ्रष्टाचार भएको भन्दै लामो फेहरिस्त सुनाए । त्यसपछि अन्य सांसदहरूले बोले । कसैले पनि दाहालको अभिव्यक्तिविरुद्ध प्रतिवाद गरेनन् । किनकि त्यस दिन एमाले अध्यक्ष ओली संसद् बैठकमा उपस्थित थिएनन् । एमालेका अन्य सांसद पनि नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिए ।
मच्छिन्द्रनाथको भोटोजात्रा देखाउने भएकाले बिहीबार सार्वजनिक बिदा थियो । प्रतिनिधिसभा बैठक बसेन । शुक्रबार बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्ने कार्यतालिका थियो । तर, कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेले निहुँ खोज्न थाल्यो । आफ्नो अध्यक्षमाथि भ्रष्टाचारको आरोप लगाएको भन्दै एमाले सांसदहरूले सभामुख देवराज घिमिरेसँग गुनासो गर्न थाले । तर संसद् सहज ढंगले चलाउने सहमतिपछि १२ बजेतिर प्रतिनिधिसभा बैठक सुरु भयो ।
सभामुख घिमिरेले बैठक सुरु गर्ना साथ एमाले सांसदहरू आ–आफ्नो कुर्सीबाट उठे । एमाले प्रमुख सचेतक पदम गिरीले एक्कासि सत्ता पक्षका सांसदले पशुपति मन्दिरमा जलहरी राख्दा भ्रष्टाचार भएको र त्यसमा आफ्नो अध्यक्षमाथि लाञ्छना लगाइएको भन्दै बैठक अवरोध गर्ने बताए । त्यसपछि एमाले सांसदहरू नाराबाजी गर्न थाले ।
एमाले उपनेता सुवासचन्द्र नेम्वाङले दूधको दूध पानीको पानी नछुट्टिई पशुपतिको जलहरीमा भएको के हो ? त्यसबारे कुरा नटुंगिएसम्म एमालेले संसद् बैठक अवरोध गर्ने चेतावनी दिए । एमाले सांसदहरूले नाराबाजी गर्दै सत्तापक्षका सांसदले बोलेको कुरा रेकर्डबाट हटाउन अडान कायमै राखेपछि २० मिनेटका लागि स्थगित बैठक दिनभर बस्न सकेन । एकैचोटि ४ बजेमात्र संसद् बैठक शनिबारसम्मका लागि स्थगित भनेर सूचना टाँस गरियो ।
बुधबार, बिहीबारसम्म कतै चालचुल नभएको पशुपति मन्दिरको जलहरीमा भ्रष्टाचार प्रकरणबारे कुन सांसदले बोलेको हो भनेर शुक्रबार १२ बजेपछि खोजबिन हुन थाल्यो । केही मिडिया र सामाजिक सञ्जालमा कांग्रेस सांसदले अभिव्यक्ति दिएको भनेर लेखे । तर वास्तविकता अर्कै थियो ।
सिन्धुलीबाट निर्वाचित राजन दाहालले बुधबार संसदमा दिएको अभिव्यक्तिको एउटा अंश रहेछ । त्यसपछि मात्र दाहाल चर्चामा आएका हुन् । अनि खोज्न थालियो दाहाललाई । उनले आफूले महालेखा परीक्षकको ५१औं प्रतिवेदनमा उल्लेख भएको अंशलाई संसदमा बोलेको र त्यसबारे ओलीले नै जवाफ दिनुपर्ने अडान राखे ।
तर एमाले रोकिने अवस्था थिएन । उसले आफ्ना अध्यक्षलाई भ्रष्टाचारी भन्ने ? भन्दै संसद् चल्नै नदिने बताउन थाले । एमालेले यस्तो अवस्थामा आएर संसदमा अवरोध गरेको थियो कि समयमा नीति तथा कार्यक्रम पारित नहुने र बजेट आउन सक्ने अवस्था घर्किंदै थियो ।
यही मौका हो भनेर एमालेले ओलीलाई चोख्याउने बाटो रोज्यो । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा ओलीमाथि लागेको भ्रष्टाचारको आरोप संसदको रेकर्डबाट हटाउने र एमालेले संसद् अवरोध नगर्ने, प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने सहमति भयो ।
सोही सहमतिअनुसार संसद्को रेकर्डबाट सांसद दाहालले बोलेका अभिव्यक्तिका दुई अंश हटाइयो जुन ओलीप्रति लक्षित थियो ।संसदको रेकर्डबाट हटाए पनि पशुपति मन्दिरको जलहरी काण्डले ओलीको भ्रष्टाचारको मुखुण्डो भने धेरैका सामु उदांग पारिदिएको छ । एमालेले जतिसुकै ढाकछोप गरे पनि ओलीको पालामा भ्रष्टाचार भएको तथ्य जनतासामु उजागर भएको छ ।
यदि एमालेले संसदमा नाराबाजी नगरी बैठक अवरोध नगरेको भए राजन दाहालले के बोले भनेर कसैले थाहा पाउँदैनथे । खोजीखोजी दाहालको भिडियो सामाजिक सञ्जालमा छरपस्ट हुँदैनथ्यो । यती, ओम्नी, वाइडबडी, बतास, कोरोनाकालमा स्वास्थ्य सामग्री खरिद गर्दा करोडौं भ्रष्टाचार भएको तथ्य सार्वजनिक भइसकेको छ ।
यी सबै विषयमा महालेखा परीक्षकको प्रतिवेदनमा समेत उल्लेख छ । तर एमाले अध्यक्ष ओलीले सबै भ्रष्टाचार काण्डका आरोपीलाई संरक्षण गर्दै आएका थिए । पशुपति मन्दिरको सुनको जलहरीमा करिब आठ करोड भ्रष्टाचार भएको महालेखाकै प्रतिवेदनमा समेटिएकाले एमालेलाई यो काण्डले धेरै क्षति पुग्ने अनुमान गरिएको छ ।