
एक साता लामो केन्द्रीय समिति बैठकपछि नेपाली कांग्रेसले पुनर्जीवन प्राप्त गरेको छ । साउन २ देखि १० सम्म बसेको केन्द्रीय समिति बैठकमा खुलेर केन्द्रीय सदस्य र पदाधिकारीले पार्टीले लिनुपर्ने नीति र विचारबारे आफ्नो धारणा राखे ।
११ महिनासम्म कांग्रेस केन्द्रीय समिति बैठक बस्न सकेको थिएन । अब प्रत्येक दुई महिनामा एकपटक केन्द्रीय समिति बैठक बस्ने मिति नै तोकिएको छ । जसले गर्दा कांग्रेसका निष्क्रिय संगठनहरू चलायमान बन्ने अपेक्षा गरिएको छ ।
कांग्रेसले एकवर्षे संगठन विस्तार अभियान सुरु गरेको छ । जसअनुसार साउन २० देखि ३० आन्तरिक संगठन सुदृढीकरण अभियान सुरु भएको छ । कांग्रेसले यो अभियानका लागि आफ्ना केन्द्रीय सदस्यलाई ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि तोकेको छ । सबै अहिले आ–आफूलाई खटएको जिल्ला र निर्वाचन क्षेत्रमा पुगिसकेका छन् ।
यो १० दिनसम्म उनीहरूले त्यहाँ पार्टीका भ्रातृसंगठन, तल्लो तहका कमिटीका प्रतिनिधिहरूसँग छलफल गर्नेछन् । के कस्ता कमीकमजोरी छ ? पार्टी नेतृत्वले कस्तो नीति लिनुपर्ने हो ? कसरी अघि बढाउनुपर्ने हो ? सबै विषयमा जानकारी लिएर पार्टीलाई प्रतिवेदन बुझाउने छन् । जसबाट पार्टी ती जिल्ला र निर्वाचन क्षेत्रमा आगामी दिनमा लिनुपर्ने नीति र अपनाउनुपर्ने रणनीति अख्तियार गर्न सहज हुने विश्वास लिइएको छ ।
यो एक वर्षसम्म पार्टीका कुनै पनि कमिटी चल्न नसक्दा, भ्रातृसंगठन चलायमान हुन नपाउँदा कांग्रेसका धेरै नेता कार्यकर्ता लाखापाखा लागेका थिए । गठबन्धनका कारण आफ्नो भविष्य सुरक्षित नदेखेर नयाँ पार्टीमा जाने कांग्रेस नेता कार्यकर्ताको संख्या पनि धेरै छ ।
कांग्रेस मतदाता र समर्थककै भोट पाएर नयाँ पार्टीहरू उदय भएका हुन् । अहिले पनि उनीहरूले कांग्रेसकै भोटरलाई आफ्नो भनेर प्रचार गरिरहेका छन् । र, मिसन २०८४ भन्दै हिँडेका छन् । उनीहरूको त्यो रणनीतिलाई निस्तेज पार्न पनि कांग्रेसले नयाँ गति लिनैपर्ने थियो । अब भने कांग्रेसले त्यो स्पिरिटलाई पक्रने विश्वास गरिएको छ ।
आफ्ना पहिलेका भोटर मात्रै सुरक्षित गर्न सक्ने हो र कांग्रेसमा नयाँ पुस्तालाई आकर्षण गराउने हो भने कुनै पनि तागतले कांग्रेसलाई साढे चार वर्षपछि फेरि पनि ठूलो दल बन्नबाट कसैले रोक्न सक्दैन ।कांग्रेसका वर्तमान पार्टी सभापति शेरबहादुर देउवाको यो नै अन्तिम कार्यकाल हो । विधानतः देउवाले अर्कोचोटि सभापति उठ्न पाउँदैनन् ।
अब बन्ने भनेको एकपटक प्रधानमन्त्री हो । त्यो अवसर उनले पाउने नै देखिन्छ । देउवाले आफ्नो कार्यकालमा पार्टीलाई प्रतिनिधिसभा, प्रदेश र स्थानीय तहमा पहिलो पार्टी बनाएका छन् । त्यसैले अबको नेतृत्व लिने नेताहरूले वर्तमान नेतृत्वको कमीकमजोरी लिएर आलोचना गर्नुभन्दा पनि कसरी कांग्रेसलाई सशक्त बनाउने, धेरैभन्दा धेरै मानिसलाई आकर्षित गर्ने, सुशासनका सन्दर्भमा कांग्रेसले लिने नीतिबारे प्रस्ट पार्दै अघि बढ्नुपर्ने देखिन्छ ।
देउवाको विरोध गरेर मात्र अब कांग्रेस अघि बढ्न सक्दैन । कांग्रेसलाई तल्लो तहसम्म र अन्य दलभन्दा कसरी भिन्न बनाउन सकिन्छ भनेर अहिले पदाधिकारी तहमा बसेका र आगामी दिनमा पार्टीको नेतृत्व लिने नेताले सोच्न जरुरी भइसकेको छ ।
कांग्रेसले डेलिभरी दिने विषय र जनमुखी नीति अंगाल्नुपर्ने धेरैको सुझाव छ ।
यसलाई अहिलेका पदाधिकारी तहमा बसेका धेरै युवा नेताले सुझावका रूपमा ग्रहण गरी अघि बढ्न ढिला भइसकेको छ । पार्टी केन्द्रीय समिति बैठकले पारित गरेको महामन्त्रीको कार्ययोजनामा कांग्रेसलाई चलायमान बनाउन सक्ने धेरै विषय रहेको नेताहरूको भनाइ छ ।