
अहिले धरान शान्त छ । धरान पहिले पनि शान्त थियो र भोलि पनि शान्त हुनेछ । नेपाल नै शान्तिप्रिय देश हो र नेपाल भन्ने देश शदियौँदेखि वहुभाषिक, वहुसांस्कृतिक र वहुधार्मिक भएर पनि सबै धर्मावलम्बी , सबै भाषी, सबै सांस्कृतिक सभ्यता मान्नेहरु आपसमा मिलेर बसेको इतिहास छ ।
आज पनि संसारमा त्यसरी मिलेर बस्ने देशको बारेमा अध्ययन गर्ने हो भन्ने नेपाल पहिलो शान्तिपूर्ण सहअस्तित्वका पक्षमा आपसमा अभ्यास गरेर बसेको देशको रुपमा लिन सकिन्छ । वेद,मुन्धुम, कुरान र बाइबल सबै हाम्रालागि पवित्र सन्देशसहितका सांस्कृतिक र धार्मिक आचरणका लागि अभ्यास गर्ने आधारहरु हुन् किनभने धर्म भनेको आस्थासँग सम्बन्धित हुन्छ अनि आस्थाचाहिँ चेतनासँग सम्बन्धित हुन्छ । चेतना व्यक्तिगत आर्जनबाट पनि प्राप्त हुन्छ र परम्परागत अभ्यासबाट पनि संग्रहित हुन्छ ।
सामाजिक न्याय र प्रजातन्त्र एकअर्कासँग अन्योन्याश्रित पक्षहरु हुन् । मानव अधिकारको पाटोले मान्छेको बाँच्ने अधिकारको वकालत गर्छ भने समाजमा कसरी सहज तरिकाले बाँच्न पाउने भन्ने बारेमा सामाजिक न्यायले व्यवस्थापन गरेको पाइन्छ । शान्तिपूर्णरुपमा एकअर्काले आपसमा सम्मानका साथ बाँच्ने र बाँच्न पाउने हकको अभ्यास र उपयोग नेपालमा भएको छ , त्यसको लागि हाम्रो प्रजातान्त्रिक व्यवस्थाले मौलिक हकहरुको प्रत्याभूत गरेको छ ।
हामी सबै विषयमा संक्रमणकालमा छौँ । हामीलाई मानवोचित व्यवहारको जरुरत छ आपसमा । आपसमा सम्मान, आदर, सहिष्णुता र सद्भावको जरुरत छ । कुनै पनि कुराको समाधान भनेको आपसमा बसेर छलफल र विचार विमर्शले दिन्छ ।
सामाजिक सद्भावना खल्बलिने वातावरणको सुरुवात एकैदिन र एकैरातमा भएको पक्कै होइन । समाधानका उपायहरु खोजौँ र तत्काल नै त्यसको समाधान निकालौँ तर आपसमा सद्भाव कायम गर्दै । धेरैवटा समस्याहरु एकैपटक देखिएका छन् , सबैको समाधान जरुरी छ , समस्याको जगमा पुगेर समाधान निकाल्नु जरुरी छ ।
हाम्रो सद्भावपूर्ण समन्वयात्मक समाजको अवस्थालाई सदैव कायम गर्नु पहिलो कर्तव्य हुनजान्छ । हामीले मानेको संसदीय प्रजातान्त्रिक व्यवस्थाले आपसमा संवादले मात्र समस्याको समाधान हुन्छ भनेर सिकाउँछ र त्यसको असल अभ्यासले मात्र समाजमा सद्भाव र शान्ति कायम गर्न सहज हुन्छ।
नेपालमा हाल अचानक धार्मिक , सांस्कृतिक तथा सामाजिकरुपमा असहिष्णुता कसरी पलाएको हो ? थाहै भएन । कोशी प्रदेशको नामाकरणपश्चात् नै एउटा असन्तोष देखिएको थियो र त्यसको कारणले हो वा अन्य कुनै असामाजिक तत्वको प्रयासले, गोरुको मासु प्रसङ्गले, मन्दिर —चर्चका प्रसङ्गले हाल धरानमा देखिएको आपसी असन्तोषले अन्य भागमा पनि फैलिने डर बढेको छ ।
समाजलाई एकीकृत र आपसमा समन्वय गरेर राख्नु भनेको राजनीतिक प्रयासभन्दा पनि सामाजिक समन्वयको आवश्यकता पर्छ र त्यसमा राजनीतिक नेतृत्वहरुको समझदारीपनको आवश्यकता पक्कै नै पर्छ ।
के कारणले समाज विचलित हुन थालेको हो भन्ने बारेमा समस्याको तल्लो तहसम्म नै पुग्नुपर्छ । माओवादी जनयुद्धमा देखाइएको सपनाका कारणले आज यो परिणाम आउन थालेको भन्ने एकथरीको तर्क छ जसले गर्दा हिजोको कारण आज पनि परिणामको रुपमा देखिएको हो भनिन्छ ।
अनि आपसमा कलह बढाउने काममा केही विदेशीहरु पनि लागेका छन् जसले गर्दा नेपालको धर्म निरपेक्षताको विरुद्धमा लागेर सापेक्षताको पक्षमा भूमि तयार गरिन थालेको पनि भनिन्छ । तर परिणाममा चाहिँ के देखियो भने नेपाली समाज मिलेर बसेको थियो, मिलेर बस्नै पर्छ भन्ने सन्देशचाहिँ अब सबैले दिनैपर्छ । अचानक सामाजिक सद्भावमा खलल पर्न थालेकै हो जुन नेपाली संस्कृति र सभ्यताको सकारात्मक पक्ष मानिँदैन ।
कोशी प्रदेशको नामाकरणले केही सन्देश दिएकै छ । प्रदेश सभाबाट दुई तिहाइले कोशी प्रदेशको नाम राखेको हो , तर त्यसले किन केही भागमा चित्त बुझेन र त्यसको विरुद्धमा कोशी प्रदेशमा शान्तिपूर्ण आन्दोलन सुरु भएको देखियो र त्यसैबाट कहिलकाहीँ हिँसात्मकसमेत आन्दोलन भयो भन्ने बारेमा सोच्ने काम पनि राजनीतिक दलहरुकै हो ।
पहिले दुईतिहाइको पक्षमा मत दिने पछि गएर त्यसबाट हात झिक्ने माओवादी नीतिले पनि अहिलेको समस्यामा कतै कुनै कारण पो हो कि भन्ने शंका देखिन्छ । तर माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति कायम गर्नका लागि आह्वान गरेको देखिन्छ र नेपाली कांग्रेससहितका अन्य राष्ट्रिय दल तथा प्रादेशिक दलहरुले पनि शान्तिका लागि आह्वान गरेको देखिन्छ ।
हामीले तत्कालका लागि शान्तिपूर्ण अवस्था कायम गर्ने र भोलि पनि त्यस्ता समस्याहरु नआउन् भन्नेमा सजग हुनै पर्छ । यसलाई बुढी आमै मरिन् भन्दा पनि घरमा काल पस्यो भन्नेमा सोच्ने बेला भएको देखिन्छ ।
आजको प्रजातान्त्रिक, गणतान्त्रिक तथा धर्मनिरपेक्षताको बेलामा हामी कसले केको मासु खाने भन्नेमा रुमलिएका छौँ । कुनै पनि धर्ममा हिँसालाई मान्यता दिएको हुँदैन । विवादको विषय भन्दा पनि प्रचलित नियम कानुन अनुसारको व्यवहार गर्नु हामी सबैका कर्तव्य हुनजान्छ ।
हजारौँ वर्षदेखि आफ्ना आफ्ना चलन , मान्यता, परम्परा र नियम मानेर आएका अनि मिलेर बसेका हामी नेपालीहरुमा कहाँबाट आयो यो खालको साम्प्रदायिकता, धार्मिक अन्धता र आपसमा मिल्ने भन्दा विभाजको रेखा कोरेर लड्ने मानसिकता ? हामीले शदियौँदेखि जे जानेका छौँ, सिकेका छौँ , त्यसैको अभ्यास गरौँ भन्ने अनुरोध जरुरी छ र आपसमा समन्वय, सहिष्णुता र सद्भावना जरुरी छ ।