काठमाडौं । नेपाल चिकित्सक संघले दिएको निर्देशनमा देशभरका चिकित्सकहरुले देशभरी आन्दोलन थालेका छन् । आन्दोलनरत चिकित्सकहरुले आइतबारदेशभरका स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका छन् ।
ओपीडी सेवा बन्द गरेका कारण नयाँ र फलोअपका लागि अस्पताल जानुपर्ने बिरामीहरु उपचार सेवा पाउनबाट बञ्चित परेका छन् । अहिले विरामीको संख्या बढी रहेका बेला स्वास्थ्य क्षेत्रमा देखा परेको आन्दोलन र असहमतिका कारण विरामीहरु उपचार नै नपाइ मनुपर्ने अवस्थामा पुग्नु दुर्भाग्यको कुुरा हो । संम्बन्धित निकायले आन्तरिक तथा बाह्य सहमतिबाट समस्याको समाधान निकाल्न नसक्दा विरामीले सजाय भोग्नु परेको छ । यो बिरामीको लागि निकै गाह्रो विषय हो ।
हेटौंडाको सन्चो अस्पतालमा गत बुधबार कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै नेपाल चिकित्सक संघको आह्वानमा आइतबार देशभरका स्वास्थ्य संस्थामा नयाँ बिरामी नजाँच्ने निर्णय डाक्टरहरुको निर्णयपछि बीर अस्पतालको ओपीडी टिकट काउन्टर आज बन्द छ । सेवा बन्दा भएको सुचना पढेर उपचारका लागि अस्पताल पुगेका बिरामीहरु आँखामा आँसु पारी घर फर्कन बाध्य बनेका छन् ।
नेपाली सेनाका पूर्वमेजर विरेन्द्र बीएमले बीर अस्पतालबाट आज उपचार सेवा नपाएको सामाजिक सन्जालमा पोष्ट गर्दै आज स्वास्थ्य सेवा बीर अस्पतालबाट लिन नसकिएको गुनासो सार्वजनिक गरेका छन् । रुकुमपश्चिमको चौरजहारी नगरपालिकाको उपमेयरसमेत रहेकी श्रीमती इश्वरीलाई लिएर उपचार गर्न बीर अस्पताल पुगेर उपचार पाउन नसकेपछि उनले डाक्टरहरुको प्रदर्शन र श्रीमतीसहितको फोटो सामाजिक सन्जालमा सेयर गरेका छन् । डाक्टरहरु हातमा कालोपट्टी बाँधेर अस्पतालमा आकस्मिक कक्षमा र भर्ना भएका बिरामीहरुको मात्र उपचारमा व्यस्त छन् ।
पाखुरामा कालोपट्टी बाँधेका केही डाक्टरहरुले प्लेकार्डसहित बीर अस्पताल परिसरमै प्रदर्शन पनि गरेका छन् । उनीहरुले ‘हिंसा समस्या हो, समाधान होइन’, ‘ह्वाइट कोट इज टर्निङ रेड’ (सेतो कोट रातोमा परिणत हुँदैछ) ‘विदेश पलायन हुन बाध्य नपार’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।
गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न नेपाल चिकित्सक संघले ७२ घण्टाको अल्टिमेटम दिएको थियो । तर माग सम्बोधन नभएको भन्दै संघले आज एक दिन अस्पताल, पोलिक्लिनिक, क्लिनिक लगायतमा ओपीडी सेवा रोकेका हुन् ।
गत साउन २२ गते डेंगुको लक्षण लिएर हेटौंडाको सन्चो अस्पतालमा उपचारका लागि ल्याइएका बिरामीलाई डाक्टरहरुले साउन २३ गते नै अर्को अस्पताल रेफर गरेका थिए । ती बिरामीको साउन २५ गते मृत्यु भएको थियो । त्यसपछि मृतकका आफन्तले पहिला गएको सन्चो अस्पतालले नै राम्रोसँग उपचार नगरेको आरोप लगाउँदै क्षतिपूर्तिको माग गर्दै डाक्टर माथि कुटपिट गरेका थिए ।
कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । डाक्टरहरुलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधानमाथि अनुसन्धान गर्न जिल्ला अदालत मकवानपुरले प्रहरीलाई भदौ २९ गते तीन दिनको म्याद दिएको थियो ।यस विषयलाई संम्बन्धित विषयमाथि तत्काल छानबिन गरेर सरकारले देशभरका स्वास्थ्य संस्थामा देखा परेको समस्यालाई हल गरी तत्काल अस्पतालमा पुगेको विरामीहरुलाई उपचार गर्ने वातावरण सिर्जना गर्नुपर्छ ।