मनोरञ्जन

शरदको सम्पतिको तीन भागको एक भाग निशाले पाउने अदालतको फैसला

काठमाडौँ । अभिनेत्री निशा अधिकारीले श्रीमान् तथा पुर्व क्रिकेटर शरद भेषवाकरको सम्पत्तिबाट तीन भागको एक भाग अंश पाउने भएकी छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले निशाले पतिको सम्पत्तिबाट तीन भागको एक भाग पाउने फैसला सुनाएको हो । निशाले छोरा र आफ्नो लागि शरदको सम्पत्तिबाट दुई भाग माग गर्दै २०७९ सालको भदौ २८ गते अदालतमा मुद्दा हालेकी थिइन् ।

अदालतले छोराको अंश भने बालिग नहुन्जेल निशा र शरद दुवैको संरक्षणमा हुने फैसला गरेको छ ।त्यस्तै अदालतले निशा र छोरालाई अंश नदिउन्जेल शरदले मासिक ४१ हजार रुपैयाँ खर्च दिनुपर्ने फैसला सुनाएको छ ।

शरदले अदालतमा २०७५ मंसिरदेखि निशा आफूखुसी माइत बस्दै आएको र छोराको स्कूलको मासिक खर्च (१० हजार) आफूले बेहोरिरहेको जानकारी गराएका थिए । २०७६ फागुनसम्म निशालाई साढे ११ लाख खर्च दिएको समेत उनले अदालतमा जानकारी दिएका थिए । शरदले अदालतसमक्ष निशाले अंश लिएर छुट्टै बस्न चाहनु आफ्ना लागि स्वीकार्य भएको समेत बताएका छन् ।

निशा र शरदबीच सम्बन्धविक्षेद भने भएको छैन । विवाहित महिलाले श्रीमानसँग डिभोर्स नगरीकन पनि अंश माग गर्न पाउने कानुनी व्यवस्था छ । उनीहरुको विवाह २०७४ सालमा भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *