मनोरञ्जन

बहुप्रतिक्षित ‘रामायण : १’ काे सुटिङ सकियो, २०२६ काे दिवालीमा प्रदर्शनमा आउने

मुम्बई। अभिनेता रणबीर कपुरले नितेश तिवारीको फिल्म रामायणमा काम गरिरहेको पुष्टि गरेका छन् । उनले पहिलो भागको छायांकन सकेर छिट्टै दोस्रो भागको छायांकन सुरु गर्नेसमेत जानकारी दिएका छन ।

रेड सी फिल्म फेस्टिभलमा रणवीरले भने, ‘म अहिले फिल्म रामायणमा काम गरिरहेको छु, जुन सबैभन्दा ठूलो कथा हो । मेरो बाल्यकालको साथी नमित मल्होत्रा, जसले धेरै समर्पणका साथ यो फिल्म बनाइरहेको छ । उनले उत्कृष्ट कलाकार र क्रु पाएको छ । यसलाई नितेश तिवारीले निर्देशन गरिरहेका छन् ।’

रणवीरले थप भने, ‘त्यस कथाको हिस्सा बन्नको लागि म रामजीको भूमिका निभाउन पाउँदा निकै विनम्र छु । यो मेरो लागि सपना हो । यो एक फिल्म हो जसमा सबै कुरा छ । यसले भारतीय संस्कृति के हो भन्ने सिकाउँछ ।’

केही समय अघि निर्माता नमित मल्होत्राले एक पोस्ट शेयर गर्दै फिल्मको रिलिज मिति घोषणा गरेका थिए । उनले यो पनि लेखेका छन्– ‘मैले यो महाकाव्यलाई ठूलो पर्दामा ल्याउनको लागि ठूलो खोज सुरु गरेको थिएँ । जसले ५०० वर्षभन्दा बढी समयदेखि अरबौं हृदयहरूमा शासन गरेको छ । म यसलाई सुन्दर ढंगले आकार दिइरहेको देखेर उत्साहित छु । हाम्रो टोलीको एउटै उद्देश्य छ, हाम्रो इतिहासको सबैभन्दा प्रामाणिक, पवित्र रूप, हाम्रो सत्य र हाम्रो संस्कृति, हाम्रो रामायण, संसारभरका मानिसहरूलाई प्रस्तुत गर्ने, हाम्रो सबैभन्दा ठूलो महाकाव्यलाई गर्व र सम्मानका साथ जीवनमा ल्याउने हाम्रो सपना पूरा गर्न हामीसँग सामेल हुनुहोस् ।’ उनका अनुसार साे फिल्म २०२६ काे दिवालीमा रिलिज हुनेछ भने दाेस्राे भाग २०२७ काे दिवालीमा रिलिज हुनेछ ।

उता दक्षिण भारतीय कलाकार यश आफैंले फिल्ममा रावणको भूमिका निर्वाह गरिरहेको बताइसकेका छन । केही समयअघि यशले हलिउड रिपोर्टरलाई दिएको अन्तर्वार्तामा आफू फिल्म रामायणमा रावणको भूमिका निभाउने कुरा पुष्टि गरेका थिए । उनले भनेका थिए, ‘एक अभिनेताको हैसियतले रावणको भूमिका खेल्न पाउनु मेरो लागि निकै रोमाञ्चक छ । मलाई उनको चरित्रको सूक्ष्मता धेरै मन पर्छ ।’

रामायणको बारेमा कुरा गर्दै यशले अगाडि भनेका थिए, ‘यति ठूलो बजेटको फिल्म बनाउन त्यस्ता कलाकारलाई ल्याउनुपर्छ । म फिल्मका निर्मातासँग सुरु देखि नै जोडिएँ । जब म फिल्मबाट ब्रेकमा थिएँ, हामी यस विषयमा छलफल गरिरहेका थियौं । यस फिल्मका लागि पहिले रणवीर, त्यसपछि म र त्यसपछि साई पल्लवीलाई कास्ट गरिएको थियो ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *