काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोप लागेका एमाले सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण, उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थीलाई स्वदेशफिर्तीका लागि अभियान चलाइरहेका शरणार्थी नेता टेकनाथ रिजाल, पूर्वगृहमन्त्री रामबहादुर थापाका तात्कालिक सुरक्षा सल्लाहकार इन्द्रजित राई, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, टंक गुरुङ, सागर थुलुङ राईको यसपटकको दसैं जेलमै बित्ने भएको छ । नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा सरकारी वकिलको कार्यालयले ३० जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो ।
मुद्दामा आरोपितहरूबाट कुल २८ करोड ८१ लाख रुपैयाँ बिगो दाबी गरिएको छ । आरोपितहरूमाथि लगाइएका अभियोगमध्ये सबैभन्दा धेरै सजाय र जरिवाना ठगी र किर्तेसम्बन्धी कसुरमा छ । दोषी ठहर हुनेलाई प्रत्येक अभियोगमा सात वर्ष जेल र ७० हजार रुपैयाँसम्म जरिबाना हुन सक्छ । राज्यविरुद्ध अपराधमा पाँच वर्ष जेल र ५० शजार रुपैयाँसम्म जरिबाना हुने कानुनी व्यवस्था छ । संगठित अपराधको कसुरमा पनि पाँच वर्ष जेल सजाय र ५० हजार रुपैयाँसम्म जरिबानाको व्यवस्था छ ।
खाँण, रायमाझीसहितले थुनाबाहिरै रहेर धरौटीमा छाड्नुपर्ने माग गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दिएका थिए । तर पटकपटक पेसी तोकेर सुनुवाइ भए पनि अन्तिम फैसला भने आउन सकेको छैन । त्यसैले यसपटकको दसैंतिहारमा खाँण, रायमाझीसहित सबै जेलमै रहने भएका छन् ।
बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरण र सुनकाण्डका अधिकांश अभियुक्त बाहिरै छन् । ललिता निवास जग्गा प्रकरणमा केही व्यक्तिबाहेक सबै धरौटीमा छुटेका छन् । ठूला नेताहरूलाई मुद्दामा प्रतिवादीसमेत बनाइएन । सुन तस्करीमा मुछिएका माओवादी नेताहरूले भने उन्मुक्ति पाएका छन् । पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुलबाहेक माओवादीका कुनै पनि नेता यो मुद्दामा तानिएनन् । जसकारण अहिले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठको आलोचना भइरहेको छ ।
ललिता निवास जग्गा प्रकरण र सुनकाण्डका आरोपीहरूलाई सरकारले नै कमजोर मुद्दा बनाएर उन्मुक्ति दिएको प्रस्ट देखिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस र एमालेका नेतालाई मुछेकै भरमा जेल पठाउने गृहमन्त्री श्रेष्ठले ललिता निवास प्रकरणमा मुछिएका माधवकुमार नेपाल, बाबुराम भट्टराई, लीलामणि पौड्याललगायतलाई चोख्याएको छ । त्यस्तै, सुनकाण्डमा मुछिएका कृष्णबहादुर महरा, तस्करसँग बसउठ भएका वर्षमान पुन, ओनसरी घर्तीमगर, नन्दबहादुर पुनलगायतलाई छानबिनमै तानिएन ।