
आज नेपालीहरुको महान चाड तिहारको तेस्रो दिन । लक्ष्मीको प्रतिक तथा गौमाताका रुपमा चिनिएको गाईको पूजा गरेर देशभरी धुमधामका साथ मनाइदैँछ । कृष्ण औँसी अर्थात् गाईतिहारका दिन सोमबार देवी लक्ष्मीको प्रतीकस्वरूप गाईलाई मिठामिठा खानेकुरा दिनुका साथै फूलमालाले सजाएर गाईको पूजा गरिदैँछ ।
गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो। गाईले दिने दूध आमाले खुवाएको दूधजत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाताको रुपमा लिने प्रचलन चलि आएको छ । यस्तै गाई नेपालीहरुको राष्ट्रिय जनावर पनि हो ।
श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षाबन्धनको डोरोले माला उनेर लगाईदिने तथा गाईतिहारकै दिन गाईको पुच्छरमा बाँधिदिने परम्परा पनि परापूर्वक कालदेखि चलिआएको छ ।





